
गान्तोक, 06 फरवरी (हि.स.)। सिक्किम राज्यका विभिन्न जिल्लाहरूमा भुॅंइचालोका असामान्य झट्काहरू महसुस गरिएका छन्। भुॅंइचालोका यी झट्काहरूको तीव्रता सामान्यदेखि मध्यम गतिका थिए। भुॅंइचालोले राज्यमा जनधनलाई कुनै प्रकारको क्षति पुऱ्याएको सूचना छैन।
सिक्किममा बिहिवार अबेर रातिदेखि शुक्रवार बिहानसम्म भुॅंइचालोका धेरै झट्काहरू महसुस गरिएका छन्। राज्यका छ मध्ये चारवटा जिल्ला मङ्गन, नाम्ची, गान्तोक र गेजिङमा भुॅंइचालोका झट्काहरू महसुस गरिएको थाहा लागेको छ। भुॅंइचालोको तीव्रता रेक्टर स्केलमा 2.2 देखि 4.5 सम्म रेकर्ड गरिएका छन्।
भारत सरकारको पृथ्वी विज्ञान मन्त्रालय अन्तर्गत नेशनल सेन्टर फर सिस्मोलोजीले उपलब्ध गराएको तथ्याङ्क अनुसार सिक्किमका उक्त चारवटा जिल्लामा 13 पटक भुॅंइचालोका झट्काहरू मसुस गरिएका छन्। भुॅंइचालोको सर्वाधिक सात पटक झट्का मङ्गन जिल्लामा महसुस गरिएको छ। यसपछि, नाम्ची जिल्लामा चार पटक तथा गान्तोक र गेजिङ जिल्लामा एक-एक पटक महसुस गरिएका छन्।
भुॅंइचालोको पहिलो झट्का बिहिवार अबेर राति 1:09 बजी गेजिङ जिल्लामा महसुस गरियो भने अन्तिम पटक शुक्रवार बिहान 5:19 बजी नाम्ची जिल्लामा महसुस गरियो।
नेशनल सेन्टर फर सिस्मोलोजी अनुसार, गेजिङ जिल्लामा भुॅंइचालोको पहिलो झट्का 1:09 बजी महसुस गरियो, जसको तीव्रता रेक्टर स्केलमा 4.5 रेकर्ड गरिएको छ। यसपछि, गान्तोक जिल्लामा 1:15 बजी 3.1 तीव्रता, मङ्गन जिल्लामा 1:23 बजी 2.2 तीव्रता, मङ्गन जिल्लामा 2:03 बजी 2.5 तीव्रता, नाम्ची जिल्लामा 2:20 बजी 3.9 तीव्रता र नाम्ची जिल्लामा 2:43 बजी 2.4 तीव्रताको झट्काहरू महसुस गरिएका छन्।
यसरी नै मङ्गन जिल्लामा 2:56 बजी 2.4 तीव्रता, मङ्गन जिल्लामा 2.59 बजी 2.5 तीव्रता, नाम्ची जिल्लामा 3:11 बजी 4 तीव्रता, मङ्गन जिल्लामा 3:36 बजी 2.8 तीव्रता, मङ्गन जिल्लामा 3:52 बजी 2.7 तीव्रता, मङ्गन जिल्लामा 4:57 बजी 2.2 तीव्रता र अन्तिम पटक नाम्ची जिल्लामा 5:29 बजी 2.9 तीव्रताको भुॅंइचालोका झट्काहरू महसुस गरिएका छन्।
लगातार रूपमा भुॅंइचालोका झट्काहरू महसुस गरिएपछि राज्यका मानिसहरू आतंकित बनेका थिए। यद्यपि, भुॅंइचालोका झट्काहरू अबेर रातिदेखि बिहानी पख महसुस गरिएकाले अधिकांश मानिसहरूले यसको पत्तो पाएनन्। भुॅंइचालोले जनधनलाई कुनै प्रकारको क्षति पुऱ्याएको सूचना छैन।
उल्लेखनीय छ, सिक्किममा 2011 मा भुॅंइचालोको गतिलो झट्का महसुस गरिएको छ। 18 सेप्टेम्बरमा आएको 6.9 तीव्रताको उक्त भुॅंइचालोले राज्यमा जनधनलाई ठूलो क्षति पुऱ्याएको थियो। भुॅंइचालोको केन्द्र उत्तर सिक्किम रहेको थियो भने छिमेकी देशहरूमा पनि यसका झट्काहरू महसुस गरिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल