
खरसाङ, 07 फरवरी (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी प्राथमिक स्वस्थ्य केन्द्रमा दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनद्वारा आवश्यक सर सामानहरु प्रदान गरिएको छ। घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई टेबल-चौकी, वेट मशीन, डस्टबिन, अलमारी,स्टेचर लगायत अन्य सामाग्रीहरु प्रदान गरिएको छ।
दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डन अन्तर्गत भारतका सदस्य कौशिक भट्टचार्य, तीनधारेको श्रीगणेश सहकारी समितिका सभापति विनयकुमार छेत्री, फोसेप दार्जिलिङका महासचिव भरतकुमार राई, सदस्य दिपक ठटाल लगायत अन्यहरुले उक्त सामग्रीहरू प्रदान गरेका छन्। घैयाबारी क्षेत्रका स्थानीय ग्रामवासीहरुको उपस्थितिमा घैयाबारी स्वास्थ्य केन्द्रलाई उक्त सर सामानहरु प्रदान गरियो। यसको साथै आगामी दिनमा चाढै नै उक्त ट्रस्ट अनि महानदी तीनधारे समष्टिको सभासद नवराज छेत्रीको पहलमा घैयाबारी अस्पतालको लागि एउटा एम्बुलेन्सको निम्ति पनि पहल भइरहेको जानकारी गराइएको छ।
यस अवसरमा अस्पताल पक्षले ट्रस्टका सम्पूर्ण सदस्यहरुलाई खदा लगाएर धन्यवाद ज्ञापन गरे। साथै, ग्रामवासीको पक्षबाट नरेन राईले पनि ट्रस्टका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका छन्।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डन अन्तर्गत भारतका सदस्य कौशिक भट्टचार्यले दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनको तर्फबाट घैयाबारी अस्पतालमा आवश्यक सर सामानहरु प्रदान गरिएको जानकारी गराए। उनले दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनले शिक्षा, स्वास्थ्य र पर्यावरणमाथि कार्य गर्दै आइरहेको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक