
गान्तोक, 07 फरवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको समन्वय सभा आज मल्लीडाँड़ास्थित पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। पार्टीका उपाध्यक्षहरूलाई लिएर आयोजित यस सभामा अध्यक्ष राईले सत्तारुढ़ एसकेएमको स्थापना दिवस कार्यक्रममा अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा व्यापक रूपमा समावेश गर्ने प्रयासलाई सत्ता जोगाउने असफल प्रयत्न ठहर गरे।
उनले चुनाउ जितेर सत्तामा पुगेपछि लगभग दुई वर्षसम्म केवल मनोरञ्जन र प्रचारमुखी गतिविधिमा केन्द्रित भई करोड़ौं रूपियॉं खर्च गरेको, तर आम जनता र राज्यको हितमा कुनै ठोस कार्यक्रम प्रस्तुत गर्न नसकेको आरोप लगाए।
उनले सरकार सत्यसँग डराएको, आत्तिएको तथा आफ्नो अन्त्य स्पष्ट देखिरहेकाले नै ठूलो खर्च र खोक्रो गर्जन गरिरहेको बताए। उनले सीएपी सिक्किमको राज्यप्रेम र जनआवाजलाई दबाउन असम्भव रहेको बताए। यसैगरी, सीएपी अध्यक्षले सिक्किम र सिक्किमेलीको भविष्य सुनिश्चित नभएसम्म सबैलाई इमानदारीका साथ एकताबद्ध हुन आह्वान पनि गरे।
सभामा पार्टीको चौथो स्थापना दिवसको सम्पूर्ण प्रतिवेदन उपाध्यक्ष (राजनीतिक मामिला) भूषण अधिकारीले प्रस्तुत गरेपछि सभामा उपस्थित सबै नेताहरूले पार्टीको भावी रणनीतिबारे सक्रिय सहभागिताका साथ छलफल गरे। यसैगरी, पार्टीको चौथो स्थापना दिवसमा सीएपी अध्यक्षले गरेको “विद्यार्थीहरूलाई एक वर्ष ड्रप गरेर राज्यको भावी सन्ततिको भविष्य बचाउने” आह्वानलाई पार्टीले समर्थन जनाएको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल