
खरसाङ, 07 फरवरी (हि.स.)। घैयाबारी अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) मा फेरि डाक्टरको समस्या देखिएको छ। गत वर्ष घैयाबारी अस्पतालमा डाक्टरको समस्या हुँदा स्थानीयहरुको मागमा बागौरा स्वास्थ्य केन्द्रको डाक्टर नै सप्ताहमा तीनपल्ट यहाँ आउने गरेका थिए। तर अहिले सुकना अस्पताल (खण्ड स्वास्थ्य केन्द्र) मा पनि डाक्टरको अभाव हुँदा यहाँ आउने डाक्टर उता व्यस्त हुनु परेको र यहाँ विगत एक हप्तादेखि डाक्टरबिना नै घैयाबारी अस्पताल सञ्चालन भईरहेको जानकारी प्राप्त भएको छ।
यस विषयमा घैयाबारीका स्थानीयहरुले अस्पतालमा आएर नर्सहरुसित सोधखोज गर्दा विगत एक हप्तादेखि डाक्टरबिना अस्पताल सञ्चालन भइरहेको जानकारी पाएका थिए। घैयाबारीका स्थानीयहरुमा बिपन विश्वकर्म, नरेन राई, रुपेस गदाल, बिजेन्द्र ठटाल साथै पञ्चायत सदस्याहरु अरुणा लामा र मिट्ठु लामा राई उपस्थित रहेका थिए। उक्त स्थानीय टोलीले सोधखोज गर्दा घैयाबारी अस्पतालमा फेरि डाक्टरको समस्या भएको जानकारी पाएका छन्।
घैयाबारीका स्थानीयहरुले घैयाबारी अस्पतालमा दुईजना डाक्टरहरु स्थायी रूपमा हुनु पर्ने माग गरेका छन्। स्थानीयहरुको पक्षमा पत्रकारहरुलाई सम्बोधन गर्दै बिपन विश्वकर्मले घैयाबारीमा फेरि डाक्टरको समस्या शुरु भएको र हामी यहाँ दुईजना डाक्टरहरु स्थायी रुपमा हुनु पर्ने माग राखेका छन्। उनले जीटीएको स्वास्थ्य विभाग समक्ष निवेदन गर्दै यहाँ डाक्टरको क्वाटर सुन्दरीकरण गरेर पानीको समस्या समाधान गरेर स्थायी रूपमा दुईजना डाक्टर हुनु पर्ने माग राखेका छन्।
बिपन विश्वकर्मले भने, 'पहिला पनि डाक्टरको अभाव हुँदा बागौडाबाट एकजना डाक्टर हप्तामा तीन दिन आउने गरेको तर अहिले फेरि डाक्टरको समस्या शुरु भएको छ। यहाँ डाक्टर आएर बस्ने इच्छा गरे पनि डाक्टर बस्ने क्वाटर पनि व्यवस्थित छैन। क्वाटर राम्रो नभएकाले डाक्टर अस्पतालमा बिमारी बस्ने बेडमा नै सुतेको जानकारी पाएका छौं।'
हिन्दुस्थान समाचार / हनोक