
गान्तोक, 07 फरवरी (हि.स.)। केन्द्रिय कर्पोरेट मामिला, सड़क परिवहन एवं राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्राले केन्द्रिय बजेट 2026-27 लाई 2047 सम्म विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला बताएका छन्। उनी आज राजधानीको स्थानीय एक होटलमा केन्द्रिय बजेट 2026-27 माथि आयोजित एक अन्तरक्रियात्मक सत्रलाई सम्बोधित गर्दै थिए।
भारतीय जनता पार्टी सिक्किमको आर्थिक प्रकोष्ठले आयोजन गरेको उक्त कार्यक्रमलाई सम्बोधित गर्दै केन्द्रिय राज्यमन्त्री मल्होत्राले केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले हालैमा केन्द्रिय बजेट 2026-27 पेश गरेको बताउॅंदै उक्त बजेट कर्तव्य भवनमा बनेको पहिलो बजेट रहेको जानकारी गराए। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकार गरीबहरूप्रति समर्पित रहने घोषणा गरेका थिए भने आज 200 भन्दा धेरै जन कल्याणका योजनाहरू लागू गरिएको बताए।
उनले यस पटक 53 लाख करोड रूपियॉंको केन्द्रिय बजेट पेश गरिएको र विगत 11 सालको निरन्तर समर्पणको परिणाम रहेको बताए। उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत आज विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्ने अर्थव्यवस्था बनेको बताए। उनले देशमा महॅंगाई दर लगातार रूपमा घटिरहेको र देशको जीडीपीमा पनि व्यापक सुधार आएको दाबी गरे। 2014 भन्दा अघि 18 करोड यस्ता गाउॅंहरू थिए जहॉं बिजुलीको पहुॅंच थिए, तर आज ती सबै गाउॅंहरूमा विद्युत जडान गरिएको उनले बताए।
केन्द्रिय राज्यमन्त्रीले पूर्वको सरकारमा गरीबहरूलाई हटाउने काम हुन्थ्यो भने आज प्रधानमन्त्री मोदीको नेतृत्वमा गरीबी उन्मूलनको काम भइरहेको बताए। उनले देशमा 57 करोड जनधन खाता खोलिएको, 11 करोड नि:शुल्क ग्यास चुल्हा वितरण गरिएको र 11 करोड भन्दा धेरै शौचालय निर्माण गरिएको पनि बताए। वर्तमान सरकारका जन कल्याणकारी योजनाहरूका कारण आज 25 करोड जनता गरीबी रेखादेखि माथि आएको पनि उनले बताए।
यस केन्द्रिय बजेटमा सिक्किमको विकासलाई पनि उच्च प्राथमिकता दिइएको उनले बताए। उनले सिक्किम लगायत पूर्वोत्तरका राज्यहरूलाई लिएर बुद्धिस्ट सर्किट, सेवकदेखि रम्फू रेल परियोजना, हवाई सम्पर्क, राष्ट्रिय राजमार्ग आदि जस्ता महत्वपूर्ण पूर्वाधार विकासका लागि पनि कोष आवण्टन गरिएको जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल