
मुम्बई, 07 फरवरी (हि.स.)। टी–२० विश्वकप 2026 का क्रममा मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा भारत र अमेरिकाबीच सम्पन्न खेल अवधि भारतस्थित अमेरिकी राजदूत सर्जियो गोरले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहसँग भेट गरेका छन्। यस भेटका क्रममा अमेरिकामा क्रिकेटको तीव्र रूपमा बढ्दो पहुँच र सम्भावनाबारे छलफल भएको बताइएको छ।
राजदूत गोरले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै यो भेट सकारात्मक रहेको र अमेरिकामा क्रिकेटको “एक्सपोनेन्सियल ग्रोथ” बारे संवाद भएको जानकारी दिएका छन्। उनले अमेरिकामा विश्वस्तरीय पूर्वाधार, उदीयमान प्रतिभा र बढ्दो फ्यान आधारको पनि उल्लेख गरेका छन्।
यसै खेलका क्रममा गोरले उद्योगपति मुकेश अम्बानी र नीता अम्बानीसँग पनि भेट गरेका थिए, जसलाई उनले सुखद अनुभव बताएका छन्।
मैदानमा भएको खेलमा भारतले अमेरिकालाई 29 रनले पराजित गर्यो। कप्तान सूर्यकुमार यादवले अविजित 84 रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई 161/9 को स्कोरमा पुर्याए। जवाफमा अमेरिकी टोलीले 20 ओभरमा 132/9 रन मात्र बनाउन सक्यो।
बलिङतर्फ मोहम्मद सिराजले 3 विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेले। अर्शदीप सिंह र अक्षर पटेलले दुई–दुई विकेट लिए। हर्षित राणा चोटका कारण बाहिरिएपछि सिराजलाई अन्तिम समयमा टोलीमा समावेश गरिएको थियो। यसरी नै तीव्र गतिका बलर जसप्रीत बुमराह बिरामीका कारण यो खेल खेल्न सकेनन्।
डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा उत्रिएको भारतीय टोलीमाथि यसपटक पनि उपाधि जोगाउने दबाब छ। यद्यपि पहिलो खेलमै जित निकाल्दै टोलीले सकारात्मक सुरुवात गरेको छ।
अमेरिकामा क्रिकेटको बढ्दो लोकप्रियता र आईसीसी नेतृत्वसँग भएको उच्चस्तरीय संवादले यस खेलको विश्वव्यापी विस्तार नयाँ दिशातर्फ अघि बढिरहेको संकेत गर्दछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी