
अबुजा (नाइजेरिया), ०९ फरवरी (हि.स.)। उत्तरी नाइजेरियाको कानोमा यात्रीहरू बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त भई सडकमा पल्टिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार, चालकको लापरवाहीका कारण यो दुर्घटना भएको हो। दुर्घटनामा धेरैजना घाइते भएका छन् र उनीहरूलाई कानोका अस्पतालहरूमा भर्ना गरिएको छ।
अमेरिकी च्यानल एबीसी न्युजको रिपोर्टअनुसार, यस घटनाबारे कानोका गभर्नरको कार्यालयले एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, आइतबार बिहान कानोको गेजावा स्थानीय सरकार क्षेत्रअन्तर्गत पर्ने क्वानार बार्डे शहरको एक हाइवेमा ट्रक अनियन्त्रित भई पल्टिएको हो। ट्रकमा गुजुङ शहरका यात्रीहरू सवार थिए।
कानोका गभर्नर अब्बा कबीर युसुफका प्रवक्ता सुनुसी बतुरे डावाकिन टोफाले घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “गभर्नरले यस घटनालाई अत्यन्तै हृदयविदारक बताउॅंदै यसलाई न केवल प्रभावित परिवारहरूका लागि, तर सम्पूर्ण कानो राज्यका जनताका लागि पनि ठूलो क्षति बताएका छन्।”
यसअघि दिसम्बरमा नाइजेरियामा भएको एक कार दुर्घटनामा बेलायती हेभीवेट च्याम्पियन एन्थोनी जोशुआ घाइते भएका थिए र उनका दुई नजिकका सहयोगीहरूको मृत्यु भएको थियो। लागोस-इबादान एक्सप्रेस-वेमा उनका चालकले एक रोकिएको ट्रकसँग कार ठोक्काएका थिए।
टीआरटी वर्ल्डको रिपोर्टअनुसार, कानोका गभर्नर अब्बा कबीर युसुफले जीवित बचेका व्यक्तिहरूका लागि निःशुल्क चिकित्सकीय उपचारको आदेश दिएका छन्। नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः हुने गर्छन्। सडक सञ्जाल कमजोर छ र हाइवे नियमहरूको पालना प्रायः हुँदैन। सन् २०२३ मा देशको फेडरल रोड सेफ्टी बडीले देशभर ९,५७० सडक दुर्घटनामा ५,४२१ जनाको मृत्यु भएको जनाएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी