
गान्तोक, 11 मार्च (हि.स.)। स्वास्थ्य तथा परिवार कल्याण विभागले आज राजधानीको स्थानीय एउटा होटलमा सिक्किममा एचपीवी स्व-नमूना अभियान सम्बन्धी राज्यस्तरीय श्वेतपत्र प्रसार कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा विभागीय मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा मन्त्रीको बाहुलीद्वारा सिक्किममा सर्वाइकल क्यान्सर जॉंचका लागि एचपीवी स्व-नमूना लिने सम्बन्धी श्वेतपत्रको औपचारिक रूपमा विमोचन गरियो।
सिक्किमले प्रारम्भिक पहिचान र पहुँच सुधार गर्ने उद्देश्यले विशेष गरी गान्तोक जिल्लामा सर्वाइकल क्यान्सरको जॉंच गर्न एचपीवी स्व-नमूनाको लागि एक पाइलट परियोजना शुरुवात गरेको छ। पहिले, सामाजिक कलंक र लाज मान्ने स्वभावका कारण बिरामीहरू जॉंचबाट बच्थे, तर स्व-नमूनाले सयौं मामिलाहरूको प्रारम्भिक पहिचान गर्न सम्भव भएको बताइएको छ।
यस कार्यक्रम मार्फत आशा कार्यकर्ताहरूको सहयोगद्वारा महिलाहरूलाई घरमा वा निजी व्यवस्थाहरूमा नमूना सङ्कलन गर्न सक्षम बनाउँछ र ९९ प्रतिशतभन्दा बढीले यसलाई सहज पाउँछन। यो पहल गैर-संक्रामक रोगहरूको रोकथाम र नियन्त्रणको लागि राष्ट्रिय कार्यक्रमको एक हिस्सा रहेको जानकारी गराइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री ढुङ्गेलले यस पहल अन्तर्गत ९० प्रतिशत स्कूल जाने बालिकाहरूलाई समेटेकोमा विभागको प्रशंसा गर्दै यो उपलब्धि हासिल गर्ने सिक्किम देशकै पहिलो राज्य बनेको बताए। उनले यस उपलब्धिको श्रेय मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वलाई दिए। यसैगरी, उनले विभागका सचिव छेवाङ ग्याछो, राज्य स्वास्थ्य आईईसी अधिकारी डा. सोनाम जी. भोटिया, अधिकारीहरू, डाक्टरहरू, नर्सहरू, स्वास्थ्यकर्मीहरूलाई पनि यस उपलब्धिको लागि धन्यवाद दिए।
मन्त्रीले ९०-७०-९० सूत्र उद्धृत गरे, जहाँ १५ वर्ष उमेरसम्मका ९० प्रतिशत बालिकाहरूलाई एचपीवी विरुद्ध पूर्ण रूपमा खोप लगाइन्छ, 35 र 45 साल उमेरसम्मका ७० प्रतिशत महिलाहरूको हाई-परफर्मेन्स टेस्टद्वारा जाँच गरिन्छ र पहिचान गरिएका सर्वाइकल रोगका ९० प्रतिशत मामिलाहरूलाई उपचार प्रदान गरिन्छ। उनले यस सूत्रको कार्यान्वयन मार्फत लक्ष्यभन्दा धेरै हासिल गरेकोमा राज्यका अधिकारीहरूलाई बधाई दिए र यसरी नै निरन्तर प्रयासले सिक्किम एचपीवी जॉंचमा भारतकै एक उदाहरणीय राज्य बन्ने आशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल