
गेजिङ, 11 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गेजिङ जिल्लाको अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे। महामहिम क्याब्जे डुङजिन गरब रिम्पोछेको विशेष उपस्थितिमा मुख्यमन्त्रीले स्मारक पट्टिका अनावरण एवं गुम्बाको शिलान्यास गरे। समारोहमा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री भीमहाङ लिम्बू, क्षेत्र विधायक लोकनाथ शर्मा, विधायक सुदेश कुमार सुब्बा लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा शेर्पा समुदायको लागि महत्वपूर्ण अवसरमा उपस्थितिका लागि भुटानका महामहिम क्याब्जे डुङजिन गरब रिम्पोछेलाई हार्दिक स्वागत एवं गहिरो कृतज्ञता व्यक्त गरे। सिक्किम गरीब आवास योजना जस्ता जनता-केन्द्रित पहलहरूको बारेमा बोल्दै मुख्यमन्त्रीले आवण्टन आदेश प्राप्त गर्ने सबै योग्य लाभार्थीहरूलाई २०२७ सम्ममा उनीहरूका लाभहरू प्रदान गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले 'कनेक्ट टु सीएम' पहलमाथि प्रकाश पार्दै जनतालाई यस प्रत्येक दुई महिनामा हुने भर्चुअल मञ्चको पूर्ण लाभ लिन आह्वान गरे। उनले धर्मावलम्बीहरूलाई सामूहिक प्रयास मार्फत गुम्पाको पवित्रता कायम राख्न प्रोत्साहित गरे। उनले समाजको लागि बिना शर्त सेवाको आवश्यकतामाथि जोड दिॅंदै व्यक्तिगत सम्बद्धताको पर्वाह नगरी सहयोगी प्रयासहरूतर्फ मानसिकतामा परिवर्तन ल्याउन सुझाउ राखे।
यस अतिरिक्त, मुख्यमन्त्रीले आमा योजना, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री मेधावी सिक्किम योजना जस्ता राज्य सरकारद्वारा विस्तारित प्रमुख राज्य योजनाहरूको फाइदाहरूको रूपरेखा प्रस्तुत गरे। उनले गेजिङ-बर्मेकका लागि क्षेत्र विधायकले प्रस्तुत गरेका आकांक्षाहरूको सम्भाव्य समाधानहरूमा पूर्ण समर्थनको आश्वासन दिए।
कार्यक्रमलाई क्षेत्र विधायक लोकनाथ शर्माले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल