इन्दौरमा इलेक्ट्रिक कार चार्जिङ पोइन्टमा विस्फोट हुँदा घरमा आगलागी, ६ जनाको मृत्यु
इन्दौरमा इलेक्ट्रिक कार चार्जिङ पोइन्टमा विस्फोट हुँदा घरमा आगलागी, ६ जनाको मृत्यु


इन्दौर, १८ मार्च (हि.स.)। मध्य प्रदेशको इन्दौरमा बंगाली चौराहा नजिक रहेको एक कलोनीमा आज बिहान करिब ४ बजी एउटा घरमा इलेक्ट्रिक कार चार्जिङका क्रममा सर्ट सर्किट भएर भएको दुर्घटनामा ६ जना जिउँदै जलेर मृत्यु भएका छन् भने ३ जना गम्भीर घाइते भएका छन्।

पुलिसको प्रारम्भिक जांच अनुसार, पुगलिया परिवारको घर बाहिर राति इलेक्ट्रिक कार चार्जमा लगाइएको थियो। बिहान करिब ४ बजी चार्जिङ पोइन्टमा सर्ट सर्किट हुँदा कारमा आगो लाग्यो। केही क्षणमै आगोले भयावह रुप लियो र घरभित्र फैलियो। घरभित्र १० भन्दा बढी ग्यास सिलिन्डर र ज्वलनशील सामग्री राखिएको बताइएको छ। आगोले समातेपछि सिलिन्डरहरूमा विस्फोट हुन थाल्यो। कम्तीमा ४ वटा सिलिन्डर एकपछि अर्को गर्दै विस्फोट हुँदा ठूलो आवाजसहित पूरै क्षेत्र हल्लियो र घरको एक भाग भत्कियो।

दुर्घटनाको समयमा पुगलिया परिवारको घरमा पारिवारिक कार्यक्रम चलिरहेको थियो, जसका कारण धेरै सदस्य र आफन्तहरू एकै ठाउँमा उपस्थित थिए। घटना हुँदा अधिकांश मानिस सुतिरहेका थिए, त्यसैले बाहिर निस्किन सकेनन्। स्थिति अझ गम्भीर तब बन्यो जब बिजुली काटिएपछि घरमा जडान गरिएको इलेक्ट्रोनिक लकले काम गर्न छोड्यो। यसै कारण मानिसहरू भित्रै फसेको आशंका गरिएको छ।

उद्धार तथा राहत कार्य जारी

सूचना पाएपछि दमकलका धेरै गाडीहरू घटनास्थलमा पुगेका थिए, तर त्यतिबेलासम्म आगोले पूरै घरलाई आफ्नो चपेटामा लिइसकेको थियो। पुलिस र एसडीआरएफ टोलीहरूले घण्टौं प्रयासपछि आगो नियन्त्रणमा लिएर उद्धार कार्य सञ्चालन गरे। इन्दौरका पुलिस आयुक्त सन्तोष कुमार सिंहसहित वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका थिए र अवस्थाको निरीक्षण गरेका थिए। प्रशासनले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।

सबै मृतक एउटै परिवारका

यस घटनामा मृत्यु भएका व्यक्तिहरूमा मनोज जैन पुगलिया (65 वर्ष), सिमरन (30 वर्ष), विजय सेठिया (65 वर्ष), सुमन सेठिया (60 वर्ष), राशि (12 वर्ष) र छोटू सेठिया (22 वर्ष) सामेल छन्। घाइतेहरूमा सौरभ (32 वर्ष), सुनीता (58 वर्ष) र सोमिललाई सुरक्षित रूपमा उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।

पुलिस आयुक्त सन्तोष कुमार सिंहले बताएअनुसार, “प्रारम्भिक जांचमा घर बाहिर इलेक्ट्रिक सवारी साधन चार्ज भइरहेको बेला चार्जिङ पोइन्टमा विस्फोट भयो र त्यसपछि आगो गाडीबाट घरमा फैलिएको देखिन्छ। घरभित्र १० भन्दा बढी ग्यास ट्याङ्क पनि राखिएको थियो, जसमध्ये केहीमा विस्फोट भएको छ। यस घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जनालाई बचाइएको छ। यो घर मनोज पुगलियाको थियो, जसले पोलिमर व्यवसाय सञ्चालन गर्थे। घरमा केही ज्वलनशील रसायन पनि राखिएको थियो।

इन्दौरका कलेक्टर शिवम वर्माले बताएअनुसार, दमकल र प्रशासनका टोलीहरू उद्धार कार्यमा खटिएका छन्। हाल आगो नियन्त्रणमा आइसकेको छ, तर ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। भवनका दुई तल्ला खाली गराइएको छ भने अर्को तल्लाको जाँच भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande