
नयाँ दिल्ली, 02 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र क्यानडाले चाँड़ै व्यापक आर्थिक साझेदारी सम्झौतालाई अन्तिम रूप दिनेछन् र दुवै देशहरू द्विपक्षीय व्यापारलाई 50 अरब अमेरिकी डलरसम्म पुर्याैउने दिशामा अघि बढ़िरहेको बताएका छन्।
भारत-क्यानडा सीईओ फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, भारत र क्यानडा जीवन्त लोकतन्त्र, विश्वका दुई ठूला अर्थतन्त्र र साझा मूल्यमा आधारित समाज हुन्। लोकतन्त्र, विविधता र विकासले हामीलाई प्राकृतिक साझेदारको रूपमा अगाड़ी बढ्न प्रेरित गर्दछ।
प्रधानमन्त्रीले भने कि आज भारत विश्वको सबैभन्दा द्रुत गतिमा बढ़िरहेको प्रमुख अर्थव्यवस्था हो। यो रूपान्तरण बलियो घरेलु माग, युवा जनसंख्या, ठूलो मात्रामा लगानी र डिजिटल प्रविधिको शक्तिद्वारा संचालित छ। यो हाम्रो निरन्तर चलिरहेको सुधार एक्सप्रेस को परिणाम हो। नीतिगत सरलीकरण, उत्पादन-आधारित प्रोत्साहन (पीएलआई), लोजिस्टिक्स आधुनिकीकरण तथा कर र दिवालियापन सुधारहरू मार्फत हरेक क्षेत्रमा व्यवसाय गर्न सहजतालाई बलियो बनाइँदैछ।
उनले भने, यस वर्षको बजेटमा केन्द्र सरकारले पूर्वाधार विकासको लागि रेकर्ड 130 अरब डलरको प्रावधान गरेको छ जबकि नेशनल इन्फ्रास्ट्रक्चर पाइपलाइन अन्तर्गत 1.3 ट्रिलियन डलरको लगानीमाथि काम भइरहेको छ। क्यानेडियन पेन्शन कोषले पहिले नै भारतमा लगभग 100 अरब डलरको लगानी गरिसकेको छ, जुन गहिरो विश्वासको प्रतीक हो। उनले क्यानेडियन उद्योगलाई भारतको पूर्वाधार विकास यात्रामा साझेदार बन्न आह्वान गरे।
सहयोगका पाँच प्रमुख क्षेत्रहरू चित्रण गर्दै मोदीले भने, स्वच्छ ऊर्जा दुवै देशहरूको लागि प्राथमिकता हो। आणविक क्षेत्रमा सहयोग र युरेनियमको दीर्घकालीन आपूर्तिको लागि सम्झौताहरूमा हस्ताक्षर गरिएको छ। महत्वपूर्ण खनिजहरूको लागि बलियो आपूर्ति श्रृंखला निर्माण गर्न कदम चालिएको छ। क्यानडाको नवाचार क्षमताहरूलाई भारतको विस्तारित क्षमतासँग संयोजन गर्नाले ब्याट्री र ऊर्जा भण्डारणको क्षेत्रलाई अगाड़ी बढ़ाउन सकिन्छ।
उनले भने, कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा संयुक्त एआई कम्प्यूट कोरिडोर र स्टार्टअपहरूको लागि एआई इनोवेशन स्यान्डबक्स स्थापना गर्न सकिन्छ। विनिर्माण एवं प्रौद्योगिकी - विशेषगरी इलेक्ट्रोनिक्स, एयरोस्पेस र इन्जिनियरिङ – क्यानेडियन तकनीक र भारतको स्केललाई संयोजन गर्नाले विश्वव्यापी मूल्य श्रृंखलाहरूलाई बलियो बनाउन सकिन्छ। खाद्य प्रसंस्करणको क्षेत्रमा मेगा फूड पार्क, कोल्ड चेन र खाद्य परीक्षण प्रयोगशालाहरू द्रुत गतिमा विकास भइरहेका छन्, जसले सहयोगका लागि नयाँ आयामहरू खोल्नसक्छ।
प्रधानमन्त्रीले जोड दिए कि साझेदारी राष्ट्रिय राजधानीहरूमा सीमित नभई राज्य र प्रान्तहरूमा विस्तार हुनुपर्छ। उनले भने, जब भारत र क्यानडा एकसाथ उभिन्छन्, तिनीहरूले दुई अर्थव्यवस्थाहरूलाई मात्र जोड्दैनन् तर पूँजी र क्षमतालाई संयोजन गरेर नयाँ आर्थिक शक्ति पनि सिर्जना गर्छन्।
क्रिकेटको उल्लेख गर्दै उनले भने कि जसरी द्रुत निर्णय, निडर प्रहार र म्याच-विनिङ साझेदारी टी-20 क्रिकेटमा महत्त्वपूर्ण हुन्छ, त्यसरी नै भारत र क्यानडाले मिलेर भविष्यलाई आकार दिनेछन्।
यस अवसरमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको सकारात्मक भावनाको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भने, दुई देशले मिलेर भारत-क्यानडा सम्बन्धमा नयाँ अध्याय लेख्नेछन्। उनले यो पनि जोड दिए कि विश्वव्यापी आर्थिक प्रणाली दबाबमा रहेको समयमा विश्वसनीय र समान विचारधारा भएका साझेदारहरूको सहयोग अझ् महत्त्वपूर्ण हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी