
अर्लेन्डो, ०२ मार्च (हि.स.)। फ्लोरिडा डर्बीमा स्टार फुटबलर लियोनेल मेसीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) अन्तर्गत १० खेलाडीमा सीमित अर्लेन्डो सिटीमाथि ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ। खेल आइतबार अर्लेन्डोको इन्टरएन्डको स्टेडियममा सम्पन्न भएको थियो।
खेलको शुरुवातमै अर्लेन्डो सिटीले आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमा मार्को पासालिक र मार्टिन ओहेडाले छ मिनेटको अन्तरालमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा इन्टर मियामीले रणनीतिमा परिवर्तन गर्दै फुल-ब्याक नोआ एलेनको स्थानमा माटेओ सिलवेट्टीलाई मैदानमा उताऱ्याे। यो परिवर्तन तुरुन्त प्रभावकारी सावित भयो। मैदान प्रवेश गरेको चार मिनेटमै सिलवेट्टीले टेलास्को सेगोवियाको पासमा गोल गर्दै टोलीलाई खेलमा फर्काए।
त्यसपछि सेगोवियाले अर्को उत्कृष्ट मूभ तयार पार्दै आठ मिनेटपछि मेसीलाई असिस्ट दिए। मेसीले बक्स बाहिरबाट शानदार प्रहार गर्दै २०२६ सिजनमा आफ्नो पहिलो लिग गोल गर्दै स्कोर बराबरीमा पुऱ्याए।
खेलको ८५औँ मिनेटमा मेसीले सेगोवियालाई पास दिए, जसमा उनले कर्लिङ शटमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाए र टोलीको पुनरागमन पूरा गरे।
इन्जुरी समयमा अर्लेन्डोको अवस्था झन् कठिन बन्यो, जब कलिन गुस्केले मेसीमाथि फाउल गरेपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। त्यसपछि अर्लेन्डो सिटी १० खेलाडीमा सीमित भयो।
यसपछि मेसीले फ्री-किकमार्फत अर्को शानदार गोल गर्दै इन्टर मियामीको जित सुनिश्चित गरे। यो जितसँगै इन्टर मियामीले अर्लान्डो सिटीविरुद्ध सबै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी