अमेरिका-इजरायलकाे हवाई हमलाबीच इरानबाट सुरक्षित निक्लिए पूर्व बार्सिलोना स्टार मुनिर
मुनिर एल हद्दादी


नयाँ दिल्ली, ०२ मार्च (हि.स.)। पूर्व बार्सिलोना स्टार मुनिर एल हद्दादीले अमेरिका र इजरायलले इरानमाथि गरेकाे हवाई हमलाबीच आफू सुरक्षित रूपमा देश छाड्न सफल भएको पुष्टि गरेका छन्।

मोरक्कोका फरवार्ड मुनिर एल हद्दादीले इन्स्टाग्राम स्टोरीमार्फत स्पेनिश भाषामा लेख्दै भनेका छन्, “इरानमा मेरो अवस्थाबारे पठाइएका सन्देश र चासोका लागि सबैलाई धन्यवाद। हिजो हवाई मार्गबाट देश छाड्ने योजना थियो, तर अन्तिममा हामीलाई विमानबाट उतारियाे र उडान हुन सकेन।”

मुनिर एल हद्दादी सेप्टेम्बर २०२५ मा स्पेनिस क्लब सीडी लेगानेसबाट इरानी क्लब एस्तेगलाल एफसीमा आबद्ध भएका थिए। उनले हालको क्लबले आफ्नो सुरक्षित निकासको व्यवस्था गरेको बताएका छन्।

उनले लेखेका छन्, “क्लबले मलाई सडक मार्गबाट देश छाड्न गाडीको व्यवस्था गरिदियो, जसको सहयोगले म कुनै समस्या बिना सीमा पार गर्न सफल भएँ। अहिले म टर्कीमा सुरक्षित छु र केही घण्टाभित्र स्पेन पुग्नेछु। तपाईहरू सबैको सद्भावका लागि धन्यवाद।”

ला मासिया एकेडेमीबाट उदाएका मुनिर एल हद्दादीले एफसी बार्सिलोना लागि चार सिजन खेलेका थिए। यस अवधिमा उनले तीन ला लिगा उपाधि तथा सन् २०१५ मा यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

मध्यपूर्व क्षेत्रमा शनिबारदेखि तनाव चरममा पुगेको छ, जब संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण शुरु गरे। जवाफी कारबाहीमा इरानले क्षेत्रका विभिन्न स्थानहरूलाई निशाना बनाएको बताइएको छ, जसमा यूएई, कतार र साउदी अरेबिया पनि समावेश छन्।

शनिबार राति इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको अमेरिका र इजरायलको ठूलो हमलापछि मृत्यु भएको खबरसमेत सार्वजनिक भएको छ, जसले क्षेत्रीय अवस्था अझ संवेदनशील बनेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande