
गान्तोक, 20 मार्च (हि.स.)। अनलाइन सेवाहरूको बढ्दो उपयोगसॅंगै साइबर फ्रड ठूलो चुनौती बनेको छ। साइबर ठगहरूले विभिन्न उपायहरूको माध्यमद्वारा उपभोक्ताहरूलाई आफ्नो जालमा फसाउने गर्दछन्। अर्कातिर, उपभोक्ताहरूमा पनि जागरुकताको कमी देखिन्छ, जसकारण उनीहरू साइबर ठगहरूको जालमा फस्ने गर्दछन्।
सिक्किममा साइबर ठगीका मामिलाहरू दिनहुॅं प्रकाशमा आइरहेका छन्। यसै क्रममा हिजो पनि साइबर फ्रडको एउटा मामिला दर्ता भएको छ। पुलिस रिपोर्टका अनुसार, राजधानीकी एक महिलाले एक लाख रूपियॉं ऋणका लागि क्यास बस नामक एउटा मोबाइल एप्लीकेशनमा आवेदन गरेकी थिइन्।
ऋणका लागि आवेदन गरेको तीन घण्टापछि महिलाको खातामा 43 हजार 500 रूपियॉं जम्मा भयो। यसको छ दिनपछि एउटा मोबाइल नम्बरबाट महिलालाई सम्पर्क गरेर ब्याजसहित ऋण फिर्ता गर्न लगाइयो। यसपछि, दुई पटक 4 र 13 मार्चका दिन उनले 79 हजार 437 रूपियॉं भुक्तान गरिन्। त्यसपछि पनि महिलालाई बारम्बार फोन गरेर थप पैसा भुक्तान गर्न लगाइरह्यो।
महिलाले आफु साइबर फ्रडको जालमा फसेको थाहा पाइन् र मामिला दर्ता गराइन्।
हिन्दुस्थान समाचार / बिशाल