
गान्तोक, 20 मार्च (हि.स.)। सिक्किम सरकारको विद्युत विभागका सल्लाहकार सन्जित खरेलको अगुवाईमा विभागका सचिवले आज नयाँ दिल्लीको यशोभूमिमा आयोजित राष्ट्रिय ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागी भए। उच्चस्तरीय सम्मेलनको अध्यक्षतामा केन्द्रिय ऊर्जा मन्त्री मनोहरलाल खट्टरले गरेको थियो। बैठकको उद्देश्य राष्ट्रिय ऊर्जा नीतिहरूलाई समक्रमण गर्न र ऊर्जा क्षेत्रका विकसित चुनौतीहरूलाई सम्बोधन गर्नु रहेको विभागको प्रेस बयानमा उल्लेख छ।
बैठकमा नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री, ऊर्जा राज्यमन्त्री र ऊर्जा मन्त्रालय र नयाँ तथा नवीकरणीय ऊर्जाका अधिकारीहरूका साथै राष्ट्रिय तथा क्षेत्रीय नेतृत्वहरूको उपस्थिति थियो। यसैगरी, बैठकमा पञ्जाबका राज्यपाल, अरुणाचल प्रदेशका उपमुख्यमन्त्री र विभिन्न राज्यहरूका ऊर्जा मन्त्रीहरू र सचिवहरूको पनि उपस्थिति थियो।
यस मञ्चले राष्ट्रको लागि एक लचिलो र दिगो ऊर्जा भविष्य सुनिश्चित गर्ने उद्देश्यले केन्द्रिय नीति निर्माताहरू र राज्य-स्तरीय सरोकारवालाहरूबीच व्यापक संवादलाई सहज बनाएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल