बिहारमा वज्रपातले २ जनाको मृत्यु, तीव्र हावा-पानीले बालीलाई ठूलो क्षति
बिहारमा वज्रपातले २ जनाको मृत्यु, तीव्र हावा-पानीले बालीलाई ठूलो क्षति


पटना, २१ मार्च (हि.स.)। बिहारमा शुक्रबार अबेर राति आएको तीव्र हावा-पानीसँगै परेको वज्रपातले २ जनाको मृत्यु भएको छ भने बालीलाई ठूलो क्षति पुगेको छ। पटना सहित राज्यका १३ जिल्लामा आएको हावा-पानीले कृषिमा व्यापक नोक्सानी भएको छ। यस क्रममा आकाशीय बिजुलीले गया जिल्लामा २ जनाको ज्यान गएको हो।

अबेर राति राज्यका विभिन्न जिल्लामा भारी वर्षा रेकर्ड गरियो। आँधी, वर्षा र असिनाले किसानहरूलाई सबैभन्दा बढी असर परेको छ। विशेषगरी गहुँको बालीमा ठूलो क्षति पुगेको छ। पटना नजिकैको बाढ क्षेत्रमा एउटा ताडीको रूखमा बिजुली पर्दा आगलागी भएको थियो, तर यस घटनामा कुनै मानवीय क्षति भएन।

यसैगरी, गया जिल्लाको वजीरगंज र डुमरिया क्षेत्रमा वज्रपातका कारण दुई जनाको मृत्यु भएको हो। मृतकहरूको पहिचान वजीरगंजको कोल्हना गाउँका मनोज सिंह (५०) र डुमरियाको छकरबन्धा थाना क्षेत्रका महेन्द्र यादव (५५) का रूपमा भएको छ।

मौसम विभागले अवस्थालाई गम्भीर मान्दै गोपालगंज, सारण, सीवान, वैशाली, बेगुसराय, जहानाबाद, लखीसराय, नालन्दा, नवादा, पटना र शेखपुरा जिल्लाका केही भागहरूमा आगामी २-३ घण्टाभित्र मध्यम स्तरको मेघ गर्जन, वज्रपात तथा वर्षासँगै ४०-५० किलोमिटर प्रतिघण्टा गतिमा हावा चल्ने चेताउनी दिएको छ। राज्यका अन्य जिल्लाहरूमा पनि ४०-५० किमि प्रतिघण्टा गतिमा हावा चल्ने र बिजुली पर्ने सम्भावना रहेको बताइएको छ।

मौसम वैज्ञानिकहरूका अनुसार, यस परिवर्तनको मुख्य कारण बंगालको खाडीबाट आएको आर्द्रता र सक्रिय ट्रफ लाइन हो। दिनमा बढ्दो गर्मीका कारण वातावरण अस्थिर भई हावा-पानीको अवस्था बनेको हो। पछिल्लो २४ घण्टामा बिहान मौसम सामान्य र घाम लागेको भए पनि साँझतिर तीव्र हावा-पानीले मौसम परिवर्तन भएको थियो।

कैमूरमा अधिकतम तापक्रम ३६.९ डिग्री सेल्सियस र राजगीरमा न्यूनतम १८ डिग्री सेल्सियस मापन गरिएको छ।

मौसम विभागका अनुसार, २१ मार्चमा राज्यका अधिकांश भागमा मौसम सक्रिय रहनेछ भने २२ मार्चपछि बिस्तारै सुधार हुने सम्भावना छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande