
नयाँ दिल्ली, 23 मार्च (हि.स.)। भारत निर्वाचन आयोग (ईसीआई) ले असम, केरल, पुडुचेरी, तमिलनाडु र पश्चिम बंगालमा हुने विधानसभा चुनाउका लागि मान्यता प्राप्त राष्ट्रिय तथा राज्य राजनीतिक दलहरूलाई दूरदर्शन र अल इन्डिया रेडियोमा नि:शुल्क प्रसारण समय दिने घोषणा गरेको छ।
निर्वाचन आयोगले जनप्रतिनिधित्व अधिनियम 1951 को धारा 39ए अन्तर्गत सबै मान्यता प्राप्त दलहरूलाई आईटी प्लेटफर्महरू मार्फत डिजिटल समय वाउचर जारी गरिएको बताएको छ। उम्मेदवारहरूको सूची प्रकाशन भएको मितिदेखि मतदान मितिभन्दा दुई दिन अघिसम्म राज्य स्तरमा लटरीद्वारा प्रसारण र टेलिभिजन समय निर्धारित गरिनेछ।
प्रत्येक दललाई दूरदर्शन र अल इन्डिया रेडियोमा 45 मिनेट आधारभूत समय राज्यका क्षेत्रीय नेटवर्कमा समान रूपमा नि:शुल्क प्रदान गरिनेछ। यस बाहेक राजनीतिक दलहरूलाई अघिल्ला विधानसभा चुनाउहरूमा उनीहरूको प्रदर्शनको आधारमा अतिरिक्त समय पनि दिइएको छ।
निर्वाचन आयोगले भन्यो, राजनीतिक दलहरूले आफ्ना प्रसारण र दूरदर्शन कार्यक्रमहरूको स्क्रिप्ट र रेकर्डिङहरू पहिले नै बुझाउनुपर्नेछ। राजनीतिक दलहरूले दूरदर्शन र अल इन्डिया रेडियोमा अधिकतम दुई प्यानल छलफल र बहसका लागि एक प्रतिनिधि मनोनयन गर्न पाउनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी