सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना
सिक्किम आम नगरपालिका चुनाउ


गान्तोक, 23 मार्च (हि.स.)। सिक्किम राज्य चुनाउ आयोगले सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा गरेको छ। आयोगले राज्यका 9 वटा शहरी स्थानीय निकायहरूमा आगामी 24 अप्रेलका दिन मतदान र 25 अप्रेल, 2026 का दिन मतगणना हुने जानकारी गराएको छ। आयोगले चुनाउ घोषणा गरेसॅंगै आदर्श आचार संहिता पनि लागू भएको छ।

राजधानीको मिडल सिच्छेस्थित आयोगको कार्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा मुख्य चुनाउ आयुक्त केसी लेप्चाले सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा गरेका हुन्। मुख्य चुनाउ आयुक्तले बताए अनुसार, नामाङ्कन बुझाउने अन्तिम मिति 30 मार्च, नामाङ्कन जॉंच 1 अप्रेल र नामाङ्कन फिर्ता लिने अन्तिम मिति 4 अप्रेल हो। 24 अप्रेलका दिन बिहान 8 बजीदेखि सॉंझ 5 बजीसम्म मतदान हुनेछ। 25 अप्रेल बिहान 8 बजीदेखि मतगणना शुरू हुनेछ।

सिक्किम आम नगरपालिका चुनाउमा कुल मतदाताहरूको संख्या 93 हजार 697 जना रहेका छन्, जसमा पुरुष मतदाताहरूको संख्या 47 हजार 170 र महिला मतदाताहरूको संख्या 46 हजार 527 रहेका छन्। सबै 9 वटा शहरी स्थानीय निकायका 63 वार्डमा मतदान हुनेछ, जसका लागि 121 मतदान केन्द्र स्थापित गरिएका छन्। मुख्य चुनाउ आयुक्त लेप्चाले अघिल्लो आम नगरपालिका चुनाउको तुलनामा यस पटक 23 प्रतिशत वार्ड, 36 प्रतिशत मतदान केन्द्र र दुईवटा जिल्ला वृद्धि भएको जानकारी गराए। यसरी नै मतदाताहरू संख्या 14.5 प्रतिशत वृद्धि भएको छ।

गान्तोक नगर निगमका 21 वार्डका लागि 69 मतदान केन्द्र, नाम्ची नगर परिषदका 7 वार्डका लागि 9 मतदान केन्द्र, सिङताम नगर पञ्चायतका 5 वार्डका लागि 6 मतदान केन्द्र, नयॉं बजार जोरथाङ नगर पञ्चायतका 5 वार्डका लागि 6 मतदान केन्द्र, गेजिङ नगर पञ्चायतका 5 वार्डका लागि 5 मतदान केन्द्र, मङ्गन नगर पञ्चायतका 5 वार्डका लागि 5 मतदान कन्द्र र रम्फू नगर पञ्चायतका 5 वार्डका लागि 7 मतदान केन्द्र स्थापित गरिएका छन्। यसरी नै दुईवटा नयॉं शहरी स्थानीय निकाय पाकिम नगर पञ्चायतका 5 वार्डका लागि 9 मतदान केन्द्र र सोरेङ नगर पञ्चायतका 5 वार्डका लागि 5 मतदान केन्द्र स्थापित गरिएका छन्।

मुख्य चुनाउ आयुक्त लेप्चाले आम नगरपालिका चुनाउ २०२६ का लागि आयोग पूर्ण रूपमा तयार रहेको बताए। उनले आयोग स्वतन्त्र, निष्पक्ष अनि शान्तिपूर्ण चुनाउ आयोजन गराउन प्रतिबद्ध रहेको बताए। उनले चुनाउ घोषणा भएसॅंग आदर्श आचार संहिता लागू भएको छ भन्दै आचार संहिता उल्लंघन गर्नेहरू विरुद्ध कानुन बमोजिम कडा कारबाही गरिने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande