निष्पक्ष चुनाउका लागि नगरपालिकाका प्रशासकहरुलाई हटाउनु पर्ने माग
निष्पक्ष चुनाउका लागि नगरपालिकाका प्रशासकहरुलाई हटाउनु पर्ने माग


दार्जिलिङ, 24 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को केन्द्रिय संयोजक अजय एडवर्ड्सले प्रमुख निर्वाचन आयोगलाई पत्र लेखेर निष्पक्ष चुनाउका लागि प्रशासकहरूका साथै सचिवहरूलाई पनि हटाउनु पर्ने माग गरेका छन्। उनले खरसाङ नगरपालिका, मिरिक नगरपालिका र कालेबुङ नगरपालिका बोर्डको कार्यकाल पूरा भए तापनि अझै चुनाउ नगराएकोमा पनि प्रश्न उठाएका छन्।

आईजीजेएफका केन्द्रिय संयोजक अजय एडवर्ड्सले प्रमुख निर्वाचन आयोग ज्ञानेश कुमारलाई पत्राचार गरेर उक्त मुद्दाहरू उठाएको जानकारी पार्टी केन्द्रिय कार्यकारिणी सदस्य लाडुप घिसिङले बताएका छन्।

घिसिङले भने, 2017 मा दार्जिलिङ जिल्लाको खरसाङ नगरपालिका, मिरिक नगरपालिका र कालेबुङ जिल्लाको कालेबुङ नगरपालिकाको अन्तिम चुनाउ भएको थियो। यी बोर्डहरूको पाँच वर्षको कार्यकाल 2022 मा समाप्त भइसकेको छ, तर यतिका वर्षहरू बितिसक्दा पनि यी नगरपालिका बोर्डहरूको चुनाउ भएको छैन। पश्चिम बंगाल सरकारले यी बोर्डहरूमा प्रशासक नियुक्ति गरेर सञ्चालन गर्दै आइरहेको छ। यहाँ निर्वाचित जनप्रतिनिधिहरू छैनन्। स्थानीय निकायहरूमा चुनाउ नभएकाले राजनीतिक रूपमा प्रशासकहरू नियुक्त गरिएका छन्।

उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र तृणमूल कांग्रेसका नेतृत्वहरूलाई ती बोर्डहरूमा प्रशासक नियुक्ति गरिएको दाबी गरेका छन्। यस कारण निष्पक्ष चुनाउ नहुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यी प्रशासकहरूलाई अविलम्ब हटाउनु पर्ने माग प्रमुख निर्वाचन आयोग समक्ष राखिएको घिसिङले बताए। त्यसरी नै यहाँका क्षेत्रीय व्यवस्थाहरूमा नियुक्ति गरिएका पदाधिकारीहरूलाई पनि तुरून्तै हाउनु पर्ने माग गरिएको उनले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande