
नाम्ची, 24 मार्च (हि.स.)। नाम्ची जिल्लाकी जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी अनुपा तामलिङले आज नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसॅंग आगामी नगरपालिका चुनाउ 2026 लाई लिएर आयोजित एक बैठकको अध्यक्षता गरिन्। बैठकमा एडीसी (मुख्यालय) सुभाष घिमिरे, एडीसी त्रिसाङ तामाङ, एएसपी बिकास तिवारी लगायत एसकेएम, सीएपी सिक्किम, एसडीएफ र भाजपाका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा जिल्ला चुनाउ अधिकारी तामलिङले राज्य चुनाउ आयोगको निर्देशनमा आगामी नगरपालिका चुनाउलाई लिएर चलिरहेका तयारीहरूको बारेमा जानकारी गराइन्। उनले चुनाउका लागि 12 वार्डमा 15 मतदान केन्द्र स्थापना गरिएको बताइन्। उनले निर्वाचनको प्रभावकारी र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न दुईजना सेक्टर म्याजिस्ट्रेटसहित सेक्टर पुलिस र सम्बन्धित नोडल अधिकारी तैनाथ गरिने अवगत गराइन्।
उनले सबै राजनीतिक दलहरूलाई आयोगले जारी गरेका नियम र दिशानिर्देशहरू कडाईका साथ पालन गर्न र कुनै प्रकारको स्पष्टीकरणका लागि चुनाउ अधिकृतहरूलाई सम्पर्क गर्न अपील गरिन्। उनले पीएचई विभागका सचिव शैलेन्द्र शर्मालाई नाम्ची जिल्लाको चुनाउ पर्यवेक्षक नियुक्त गरिएको र उनलाई पीडब्ल्यूडी बङ्गलोमा भेट्न सकिने जानकारी गराइन्।
बैठकमा एडीसी त्रिसाङ तामाङ, एडीसी सुभाष घिमिरे र एएसपी बिकास तिवारीले पनि आगामी नगरपालिका चुनाउ सम्बन्धित जानकारीहरू दिएका थिए। राजनीतिक दलका प्रतिनिधिहरूले पनि चुनाउ प्रक्रियालाई लिएर विभिन्न प्रश्नहरू गरेका थिए, जसलाई सम्बन्धित अधिकारीहरूले सम्बोधित गरे।
अर्कातिर, नगरपालिका चुनाउ 2026 लाई लिएर नामाङ्कन बुझाउने प्रक्रिया हिजो, सोमवारदेखि शुरू भइसकेको छ। नामाङ्कन बुझाउने आज दोस्रो दिन कसैले पनि नामाङ्कन बुझाएनन्। नामाङ्कन बुझाउने अन्तिम मिति 30 मार्च हो।
हिन्दुस्थान समाचार / बिशाल