
सोनादा, 28 मार्च (हि.स.)। सोनादा डिग्री कलेजको दर्शनशास्त्र विभागले कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन समितिको (आईक्युएसी) को सहकार्यमा विश्व दर्शन दिवसको अवसरमा समकालीन राष्ट्रिय पुनर्निर्माणको सन्दर्भमा भारतीय सांस्कृतिक मूल्यहरूको पुनरुत्थान विषयमा एक दिवसीय सङ्गोष्ठी आयोजना गर्यो। कलेजको प्रेक्षागृहमा आयोजित उक्त कार्यक्रमको अध्यक्षतामा कलेजका प्राचार्य डा योगेश खातीले गरेको थियो।
भारतीय दार्शनिक अनुसन्धान परिषद् (आईसीपीआर) द्वारा प्रायोजित उक्त कार्यक्रममा उत्तर बङ्ग विश्वविद्यालयका दर्शनशास्त्र विभागका पूर्व प्राध्यापक डा. रघुनाथ घोष र सन्त जोसेफ कलेज दार्जिलिङका राजनीतिशास्त्रका सह-प्राध्यापक डा. पदम नेपाल प्रमुख वक्ताका रूपमा सहभागी थिए। डा. घोषले “समकालीन राष्ट्रिय पुनर्निर्माणको सन्दर्भमा भारतीय सांस्कृतिक मूल्य मान्यताहरूको पुनरावलोकन” शीर्षकमा प्रभावकारी मन्तव्य प्रस्तुत गरे भने डा. नेपालले “समकालीन राष्ट्रिय पुनर्निर्माणको सन्दर्भमा आदिवासी पारिस्थितिक सांस्कृतिक मूल्य मान्यताहरूको पुनर्स्थापना” विषयमा आफ्नो वार्ता प्रस्तुत गरे।
वैश्वीकरण, जटिल अन्तरनिर्भरता, प्रविधिगत उन्नति र तीव्र सामाजिक परिवर्तनले परिभाषित आजको विश्वमा प्रगतिका यी पक्षहरू दुवै अवसर र चुनौतीका रूपमा देखिएको कुरो अघि राख्दै वक्ताहरूले यस्ता परिवर्तनहरूले अवसर विस्तार गरे पनि सांस्कृतिक मूल्यहरूको क्षय, नैतिक अस्पष्टता र सामाजिक विखण्डन निम्त्याउने खतरा रहेको कुरो बताए। हामीले राष्ट्रलाई केवल भौतिक रूपमा मात्र होइन, नैतिक र सांस्कृतिक रूपमा कसरी पुनर्निर्माण गर्ने? भन्ने प्रश्नलाई केन्द्रिय विषयका रूपमा स्रोत वक्ताद्वयले उठान गरेका थिए।
साँचो राष्ट्रिय पुनर्निर्माण आर्थिक वृद्धिमा मात्र सीमित नहुने उल्लेख गर्दै मानवता, अनुशासन ,सामाजिक एकता, न्याय, नैतिकता, र सामूहिक जिम्मेवारीलाई सुदृढ बनाउनसके भारतीय सांस्कृतिक मूल्यहरूको सन्तुलित विकास र राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्नसक्ने कुरोमा वक्ताहरुले जोड दिएका थिए। समारोहमा प्राचार्य डा योगेश खाती, डा रघुनाथ घोष, डा पदम नेपालले आ-आफ्नो धारणा अझ अघि राख्दै भारतीय संस्कृति केवल परम्परा वा अतीतको धरोहर मात्र नभई वर्तमान समाजलाई मार्गदर्शन गर्ने जीवित शक्ति भएको बताउॅंदै सत्य, अहिंसा, सहिष्णुता, कर्तव्यपरायणता, परिवारिक एकता र आध्यात्मिकता जस्ता मूल्यहरू भारतीय संस्कृतिका मूल आधार हुन् भनी बताए।
ईतिहास विभागकी प्रा इलोरा शर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा कार्यक्रमको औचित्य बारेमा राजनीति विज्ञान विभागकी प्रा सुशिला बराइलीले बताएका थिए भने धन्यवाद ज्ञापन समारोहकी संयोजिका तथा कलेजका आईक्युएसीका संयोजिका एवम् दर्शनशास्त्र विभागका प्राध्यापिका पेन्चुला भोटियाले दिएका थिए। उक्त एक दिवसीय संगोष्ठीमा कलेजका शिक्षण अशिक्षण कर्मचारीहरू र विद्यार्थीहरू लगायत सोनादा उच्चत्तर माध्यमिक विद्यालय, होलीक्रस कन्या उच्चतर विद्यालय सोनादा, ग्रीन हिल एकाडेमी सोनादा, सन्त जेभियर्स स्कूल दिलाराम, सेन्ट पिटर स्कूल नालीचउर आदि स्कुलहरूका विद्यार्थीहरू लगायत प्रतिनिधि शिक्षक- शिक्षिकाहरू पनि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक