डेपुटी चेयरम्यान राजेश चौहानको पहलमा एसआईआरलाई लिएर विशेष बैठक
एसआईआरलाई लिएर विशेष बैठक


सोनादा, 03 मार्च (हि.स.)। रङ्गबुल धोतरिया रङ्मुक समष्टिभित्र स्थायी बसोबास गर्दै आएका सयौँ परिवारको मनमा गहिरो चिन्ता र असमञ्जस छाएको छ। मतदाता सूचीमा कसैको नाम “विचाराधीन” अवस्थामा राखिएको छ भने कसैको नाम “डिलिट सूची” मा परेको खबर सार्वजनिक भएसँगै स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।

वर्षौँदेखि यही माटोमा पसिना बगाउँदै आएका नागरिकहरू आफ्नै अस्तित्व र अधिकारमाथि प्रश्न उठेको महसुस गर्दैछन्। यही संवेदनशील अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानले आज एक विशेष बैठकको आयोजना गरे। ग्राम पञ्चायतदेखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसम्मका जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त बैठकमा स्थानीयको पीडा, चिन्ता र आक्रोशलाई गम्भीरतापूर्वक सुनिएको जानकारी गराइएको छ।

बैठकमा बोल्दै सभासद चौहानले भने, “यो केवल मतदाता सूचीको विषय मात्र होइन, यो यहाँका बासिन्दाको पहिचान र सम्मानसँग जोडिएको विषय हो। कसैको नाम अन्यायपूर्वक हटाइएको छ भने त्यसलाई सच्याउन हामी सबै एकजुट भएर पहल गर्नेछौँ।”

मतदाता सूची प्रकाशित भएसँगै गाउँमा अन्योल र डरको वातावरण सिर्जना भएको छ। कतिपय वृद्ध-वृद्धा, जसले दशकौँदेखि यहाँ मतदान गर्दै आएका छन्, आफ्नो नाम सूचीमा नदेख्दा भावुक बनेका छन्। युवा-पुस्तामा पनि भविष्यप्रति चिन्ता बढेको छ। यस परिस्थितिमा जनप्रतिनिधिहरूले नागरिकलाई संयमित रहन र आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेका छन्। साथै, निष्पक्ष छानबिन र त्रुटि सच्याउने प्रक्रियामा सबै तहबाट समन्वय गर्ने प्रतिबद्धता जनाइएको छ।

यो बैठक केवल प्रशासनिक छलफल मात्र नभई यहाँका बासिन्दाको आत्मसम्मान, अधिकार र पहिचानको सुरक्षाका लागि गरिएको सामूहिक आवाज रहेको बताइएको छ। स्थानीयवासीहरूले न्यायपूर्ण समाधान र आफ्नो अस्तित्वको सुनिश्चितता भएको होस् भन्ने अपेक्षा गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande