मङ्पुका कवि गगन वान्तावाको पहिलो कविता सङ्ग्रह ‘झरीका थोपाहरू’ लोकार्पित
Book launch at mungpoo


मङ्पू, 24 अगस्त (हि.स.)। साहित्य सृजना मञ्चको आयोजनामा कवि गगन वान्तावाद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘झरीका थोपाहरू’ को लोकार्पण कार्यक्रम आइतबार मङ्पूको सार्वजनिक भवनमा सम्पन्न भएको छ। साहित्य सृजना मञ्चका अध्यक्ष अमीर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार अर्जुनकुमार गुरुङ मुख्य अतिथिका रूपमा तथा वरिष्ठ साहित्यकार एवं सम्पादक सुभद्र बम्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा साहित्य सृजना मञ्चको नामसमेत औपचारिक रूपमा उद्घाटन गरिएको थियो। यस अवसरमा वरिष्ठ साहित्यकार सुभद्र बम्जनलाई सम्मानसमेत गरिएको थियो। आनन्द राईले सङ्ग्रहमाथि संक्षिप्त मन्तव्य राखे। त्यसपछि ‘झरीका थोपाहरू’ कविता सङ्ग्रहको औपचारिक लोकार्पण गरियो।

लोकार्पणपछि कवि गगन वान्तावाले आफ्ना भनाई राखे। कार्यक्रममा सम्मानित व्यक्तित्व सुमित्रा बम्जन, मुख्य अतिथि अर्जुनकुमार गुरुङ तथा सभापति अमीर गुरुङले साहित्य र सिर्जनाको महत्वबारे मन्तव्य राखेका थिए।

कार्यक्रमको अर्को आकर्षणका रूपमा विद्यार्थीवर्ग, साहित्य सृजना मञ्चका प्रतिनिधि कवि तथा अतिथि कविहरूको सहभागितामा कवि गोष्ठी थियो। यस क्रममा विभिन्न कविहरूले आफ्ना कविता प्रस्तुत गरे।

‘झरीका थोपाहरू’ गगन वान्तावाको पहिलो कविता सङ्ग्रहका रूपमा नेपाली साहित्य क्षेत्रमा नयाँ सिर्जनात्मक योगदानका रूपमा प्रस्तुत गरिएको आयोजक पक्षले जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande