नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
नेपाली साहित्य परिषद् सिक्किम


गान्तोक, 07 मार्च (हि.स.)। नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका उद्देश्यलाई केन्द्रमा राख्दै आज नेपाली साहित्य परिषद् सिक्किमको १४औँ कार्यकारिणी समितिको तत्वावधानमा पहिलो कार्यक्रम साहित्यकार डा. मनोरथ दाहालद्वारा लिखित लेख- सङ्ग्रह “चेतनाको ज्योति” को भव्य लोकार्पण समारोह सम्पन्न भयो। परिषद्का अध्यक्ष हरि ढुङ्गेलको सभाध्यक्षता आयोजित कार्यक्रममा प्राध्यापक रुद्र पौडेल मुख्य आतिथिका रूपमा उपस्थित थिए।

समारोहमा वरिष्ठ साहित्यकार विजयकुमार सुब्बाले कृतिमाथि स्रोत-वक्ता (मुख्य समीक्षा) प्रस्तुत गर्दै “चेतनाको ज्योति” नेपाली समाज, संस्कृति र चेतनाको गहिरो आयामलाई उजागर गर्ने विचारप्रधान कृति भएको उल्लेख गरे। कार्यक्रममा साहित्यकार डीआर नेपाल, कुबेरचन्द्र दाहाललगायत विभिन्न प्रतिष्ठित साहित्यकार, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको जानकारी प्रचार प्रसार सचिव हेमराज अधिकारीले आज प्रेस विज्ञप्तिमा दिएका छन्।

कार्यक्रमको प्रारम्भमा परिषद्का उपाध्यक्ष नीलम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै परिषद्ले नेपाली भाषा र साहित्यको समृद्ध परम्परालाई अघि बढाउने आफ्नो दायित्वप्रति सधैं प्रतिबद्ध रहेको बताए। सो अवसरमा कवि शिवप्रसाद न्यौपाने तथा परिषद्का कोषाध्यक्ष जीएस सुब्बाद्वारा प्रस्तुत गरिएको कविता वाचनले समारोहलाई थप सिर्जनात्मक र भावपूर्ण बनाएको थियो।

समारोहमा स्रष्टा डा. मनोरथ दाहाल, वरिष्ठ साहित्यकार विजयकुमार सुब्बा लगायतले मन्तव्य राख्दै नेपाली साहित्यको विकास, समकालीन चिन्तन र सर्जनात्मक दायित्वका विषयमा विचार व्यक्त गरे।

मुख्य अतिथि प्राध्यापक रुद्र पौडेलले आफ्नो सम्बोधनमा नेपाली भाषा र साहित्य केवल अभिव्यक्तिको माध्यम मात्र नभई हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ भएको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धनका लागि सम्पूर्ण समाज एकजुट भएर निरन्तर लागिरहनुपर्ने आवश्यकता औंल्याए।

सभाध्यक्ष हरि ढुङ्गेलले आफ्नो अध्यक्षीय सम्बोधनमा नेपाली साहित्य परिषद् सिक्किमले नेपाली भाषा, साहित्य र सिर्जनशीलताको उन्नयनका लागि विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै, भविष्यमा पनि परिषद् अझ सशक्त रूपमा साहित्यिक अभियानमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande