
- सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ पार्न दन्त चिकित्सकहरूको भूमिका महत्त्वपूर्ण: मुख्यमन्त्री
गान्तोक, 07 मार्च (हि.स.)। राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा आज राष्ट्रिय दन्त चिकित्सक दिवस मनाइयो। राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागले दन्त विभाग र भारतीय दन्त संघको सहकार्यमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेल, ग्रामीण विकास विभाग मन्त्री अरुण कुमार उप्रेती र विधायक कला राई विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राष्ट्रिय दन्त चिकित्सक दिवसको सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ पार्न दन्त चिकित्सकहरूले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे। सरकारले स्वास्थ्य क्षेत्रलाई निरन्तर प्राथमिकता दिएको र सबैका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गरेको उनले बताए। स्वास्थ्य क्षेत्रमा हालैका विकासहरूलाई प्रकाश पार्दै उनले जनताको हितका लागि गान्तोक, नाम्ची, मङ्गन र गेजिङका जिल्ला अस्पतालहरूका साथै जोरथाङमा पनि डायलिसिस सुविधा स्थापना गरिएको बताए।
मुख्यमन्त्रीले सोच्यागाङको एसटीएनएम अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गरिएको र धेरै बिरामीहरूलाई जीवन बचाउने सहयोग प्रदान गरिएको पनि उल्लेख गरे। उनले अस्पतालमा उच्च योग्यता भएका सुपरस्पेशलिस्टहरू रहेको, जसले विशेष हेरचाह प्रदान गरिरहेको र राज्य बाहिर पनि एसटीएनएम अस्पतालको प्रतिष्ठा बढ्दै गएको बताए।
उनले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिँदै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य हासिल गर्न सामूहिक प्रयास र टिमवर्क आवश्यक रहेको बताए। यसैगरी, मुख्यमन्त्रीले कोभिड-१९ महामारीको समयमा दन्त शल्यचिकित्सकहरूले खेलेको भूमिकाको पनि प्रशंसा गरे र उनीहरूको समर्पण र सेवाको लागि कृतज्ञता व्यक्त गरे।
उनले चिकित्सा पेशालाई समाजको सेवा गर्ने अवसर प्रदान गर्ने पेशाका रूपमा उल्लेख गर्दै स्वास्थ्य सेवा पेशेवरहरूलाई प्रतिबद्धता र करुणाका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे। सरकारले लामो समयदेखि विचाराधीन क्याडर समीक्षा र एसटीएनएम अस्पतालमा समर्पित दन्त शाखा स्थापना गर्न कदम चाल्ने पनि आश्वासन दिए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले गान्तोक नगर निगमको 'फोहोर विरुद्ध युद्ध' पहलको प्रशंसा गरे। उनले सबैलाई आ-आफ्नो क्षेत्रमा समान अभ्यासहरू अपनाउन तथा हरित र सफा सिक्किमको लागि सरसफाई कायम राख्न योगदान दिन प्रोत्साहित गरे।
कार्यक्रमलाई स्वास्थ्य विभाग मन्त्री ढङ्गेल, स्वास्थ्य विभाग सचिव छेवाङ ग्याछो भोटिया र भारतीय दन्त संघका अध्यक्ष डा. एसके राईले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल