सोनादा डिग्री कलेजमा स्वरचित कविता पाठ प्रतियोगिता सम्पन्न
Sonada degree college


सोनादा , 09 मार्च (हि.स.)। सोनादा डिग्री कलेजमा विद्यार्थीहरूको सृजनात्मक लेखन प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले अङ्ग्रेजी विभागद्वारा स्वरचित कविता पाठ प्रतियोगिता कलेजको प्रेक्षागृहमा सम्पन्न गरिएको छ। अङ्ग्रेजी विभागका प्रमुख प्रा. रतिका सुब्बा र प्रा. प्रवीणा लोहारले प्रतियोगिताको औचित्यबारे जानकारी दिएपछि विभिन्न विभागका विद्यार्थीहरूले अङ्ग्रेजी र नेपालीमा आ–आफ्ना स्वरचित कविता वाचन गरेका थिए।

विद्यार्थीहरूले सामाजिक, देशप्रेम, प्रकृति, मानवता तथा समसामयिक समस्याहरूलाई लिएर लेखिएको कविताहरु वाचन गरिएको उक्त प्रतियोगितामा डा प्रमोद छेत्री, डा कोमल कौशिक बराल, प्रा. अनिलकुमार विश्वकर्मा निर्णायकको भूमिका निर्वाह गरेका थिए। कलेजका प्राचार्य डा योगेश खातीले सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै यस्ता साहित्यिक कार्यक्रमहरू निरन्तर रुपमा आयोजना गरिने बताए।

यस कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रति नयाँ उत्साह र प्रेरणा जागृत गरेको देखिएको थियो। विजयी विद्यार्थीहरूलाई कलेजको तर्फबाट प्राचार्य डा योगेश खातीको बाहुलीद्वारा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्रीले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande