
गान्तोक, 09 मार्च (हि.स.)। पत्र सूचना कार्यालय (पीआईबी), शिलङको तत्वावधानमा हाल सिक्किमको 6 दिने अध्ययन भ्रमणमा आएका मेघालयका पत्रकारहरूको टोलीद्वारा आज पीआइबी गान्तोकका अधिकारीहरूसहित पाकिमस्थित आइसीएआर- राष्ट्रिय अर्किड अनुसन्धान केन्द्रको भ्रमण गर्नका साथै इण्डियन अर्किड फेस्टिभल 2026 मा सहभागी बनी क्षेत्रको समृद्ध अर्किडको विविधता अनि पुष्पखेतीको क्षेत्रमा हासिल गरिरेहको बढतबारे प्रत्यक्ष परखज्ञान हासिल गरे।
प्रतिनिधि टोलीद्वारा अनुसन्धान केन्द्रमा अर्किडको संरक्षण, अनुसन्धान अनि विकासमाथि चलिरहेका कार्यहरूबारे बुझाई अनुसन्धान केन्द्रमा वैज्ञानिक अनि अधिकारीहरूसँग संवाद गरियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
संवादपछि, टोली इण्डियन अर्किड फेस्टिभल 2026 मा सहभागी बन्यो। आईसीएआर-राष्ट्रिय अर्किड अनुसन्धान केन्द्रद्वारा आयोजित उत्सव “सुन्दरता अनि समृद्धिका लागि अर्किड” ध्येयवाक्यमाथि आयोजित भइरहेको छ। चारदिने कार्यक्रम सिक्किमको अर्किडको विविधतालाई प्रोत्सित गर्नका साथै अर्किड खेतीका लागि मुख्य केन्द्रका रूपमा राज्यको स्थितिलाई सुदृढ बनाउन लक्षित छ।
उत्सवलमा अतिथि पत्रकाररूले उन्नत सङ्कर प्रजातिका साथै स्थानीय अनि सम्पूर्ण पूर्वोत्तर क्षेत्रबाट झिकाइएका रैथाने अर्किडसित प्रदर्शनमा राखिएका विविध अर्किडका प्रजातिको अवलोकन गरे। विविध रङ, आकार अनि रूपमा प्रदर्शित जीवन्त अर्किडहरूबाट अतिथि पत्रकारहरू मोहित बने भने क्षेत्रमा पाइने विविध अर्किड उजागर गरिएको थियो। प्रदर्शनीले आजीविका सिर्जना अनि उद्यमिताका लागि पुष्पखेती महत्त्वपूर्ण क्षेत्र साबित हुने सम्भावना पनि प्रतिबिम्बित गरेको थियो।
प्रतिनिधि टोलीका सदस्यहरूले उत्सवमा भाग लिने अर्किड उत्पादक, प्रदर्शनकर्ता अनि विशेषज्ञहरूसँग पनि संवाद गरे। अर्किड खेतीका साथै पुष्पखेती आधारित जीविकोपार्जनमा संलग्न मेघालयका अर्किड कृषकहरूसँग पनि टोलीका सदस्यले अवसर प्राप्त गरे। टोलीका सदस्यहरूले मेघालयमा उदीयमान क्षेत्रका रूपमा आजीविका सिर्जना अनि उद्यमिताका लागि अर्किड खेतीको सम्भावनाबारे पनि कृषकहरूसँग चर्चा गरे।
उत्सवको मुख्य आकर्षण पश्चिम बङ्गालको दार्जीलिङ जिल्ला अन्तर्गत मिरिकका आतेन सुब्बाको “क्वीन अव् हार्ट” नामक सिम्बिडियम अर्किड ₹40,000 मा बिक्री हुनुरहेको थियो। दुई सुइरो फूल फुल्ने यो अर्किड पाहाडी क्षेत्र अनि सम्भवतः भारतमै सबैभन्दा उच्च मूल्यमा बिक्री हुने एक गमला फूल रहेको मानिएको छ।
उत्सवमा पुष्पखेती क्षेत्रका विशेषज्ञहरूद्वारा ज्ञान आदान-प्रदानको सत्र पनि रहेको थियो। मेघालय सरकारका वरिष्ठ वैज्ञानिक तथा बीआरडीसीका (जैव संसाधन विकास केन्द्र)प्रभारी डा. जुनी पर्ल लिङदोले अर्किड तथा कट फ्लावर उत्पादनको माध्यमद्वारा महिला जैवउद्यमिताबारे प्रस्तुति दिइन्। महिला केन्द्रित पुष्पखेती सञ्जालको स्थापना, यसको कार्यान्वयन क्षेत्र तथा उद्देश्य अनि प्रमुख उपलब्धिसहित उनले परियोजनाको पर्यावलोकन प्रस्तुत गरिन्।
पीआईबी, शिलङद्वारा आयोजित अध्ययन भ्रमण मेघालयका पत्रकारहरूलाई सिक्किममा कार्यान्वित सफल विकास पहलहरूबारे प्रत्यक्ष अध्ययन अनुभव प्रदान गर्दै सर्वोत्तम पहल, अभिनव कार्यक्रम तथा तृणमूल स्तरमा विकास पहलरूको कार्यान्वयनबारे समाचार लेखन एवं प्रस्तुतिमा सक्षम बनाउनु रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल