
नयाँ दिल्ली, 0९ मार्च (हि.स.)। टीम इन्डियाका कप्तान सूर्यकुमार यादवले आईसीसी पुरुष टी-२० विश्वकपको उपाधि जितेपछि अब आफ्नो अर्को ठूलो लक्ष्य तय गरेका छन्। उनले भनेका छन्, टीमको अर्को लक्ष्य ओलम्पिकमा स्वर्ण पदक जित्नु र सोही वर्ष हुने अर्को टी-२० विश्वकप पनि जित्नु हो।
अहमदाबादमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि जितेपछि आयोजित प्रेस सम्मेलनमा सूर्याले भने, “अब हाम्रो अर्को लक्ष्य ओलम्पिक हो। ओलम्पिक गोल्ड र सोही वर्ष हुने टी-२० विश्वकप पनि। यसलाई नबिर्सनुहोस्।”
उल्लेखनीय छ, २०२८ को ग्रीष्मकालीन ओलम्पिक अगस्त २०२८ मा लस एन्जेलसमा आयोजना हुनेछ। यसैगरी टी-२० विश्वकपको अर्को संस्करण सोही वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा खेलाइनेछ।
सूर्यकुमार यादवको यस बयानले उनको भविष्यबारे चलिरहेका अड्कलबाजीमा विराम लागेको छ। यसअघि रोहित शर्माले २०२४ मा टी-२० विश्वकप जितेपछि अन्तरराष्ट्रिय टी-२० क्रिकेटबाट सन्यास लिएका थिए।
सूर्यकुमार यादवले भने, विश्वकप जितेको अनुभूति अझै पूर्ण रूपमा महसुस हुन सकेको छैन। उनले भने, “अहिले हामी भर्खरै खेलबाट बाहिर आएका छौं, त्यसैले यो जितलाई पूर्ण रूपमा महसुस गर्न अलि समय लाग्नेछ। जब हामी घर फर्कन्छौं र अर्को दिन उठ्छौं, तब सायद यो जितको वास्तविक अनुभूति हुनेछ। पछिल्ला दुई वर्षको यात्रा अविश्वसनीय रह्यो।”
भारतले प्रतियोगितामा खेलेका नौमध्ये आठ खेल जित्यो। यद्यपि शुरुवात सजिलो थिएन। टोलीले पहिलो खेलमा संयुक्त राज्य अमेरिकाविरुद्ध संघर्ष गर्नुपरेको थियो र सुपर-८ चरणमा दक्षिण अफ्रिकासँग हार बेहोर्नुपरेको थियो।
कप्तानले भने, चेन्नईमा जिम्बाब्वेविरुद्धको खेलपछि टोलीले फरक शैलीको क्रिकेट खेल्न शुरु गर्यो र आत्मविश्वास बढ्दै गयो।
सूर्यकुमार यादवले बताए, २०२४ को टी-२० विश्वकप फाइनलमा उनले लिएको स्मरणीय क्याच उनको जीवनको टर्निङ पोइन्ट बनेको थियो। त्यसपछि जब उनलाई कप्तानी दिइयो उनले २०२६ मा भारतमा हुने विश्वकपलाई लक्ष्य बनाएर टोली तयार गर्न शुरु गरे।
उनले भने, २०२४ पछि टोलीले आक्रामक र फरक शैलीको क्रिकेट खेल्न थालेको छ। यही रणनीतिसँग भारतले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ पनि जित्यो र अहिले घरेलु मैदानमा टी-२० विश्वकपको उपाधि आफ्नो नाममा गर्यो।
सूर्यकुमार यादवले भने, “हामी यसैगरी आक्रामक क्रिकेट खेलिरहन चाहन्छौं र २०२७, २०२८ र २०२९ मा पनि यही रवैया कायम रहनेछ।”
---------------
हिन्दुस्थान समाचार / बिशाल