
मुम्बई, 13 अप्रेल (हि.स.)। आईपीएल 2026 को हाई स्कोरिङ भिडन्तमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले मुम्बई इन्डियन्स (एमआई) लाई 18 रनले पराजित गरेको छ। वानखेडे स्टेडियममा खेलिएको यो खेलमा आरसीबीको सन्तुलित बलिङले मुम्बईको ठुलो लक्ष्य पछ्याउने प्रयासलाई रोकेको थियो।
पहिले ब्याटिङ गर्दै रोयल च्यालेन्जर्स बेङ्लुरुले २० ओभरमा २४०/४ को विशाल स्कोर बनायो। टोलीका लागि फिल साल्टले ७८ रनको विस्फोटक इनिङ्स खेले, भने रजत पाटीदारले ५३ रन बनाए। साथै विराट कोहलीले पनि अर्धशतक प्रहार गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए।
२४१ रनको लक्ष्य पछ्याउन उत्रिएको मुम्बई इन्डियन्सको शुरुआत राम्रो रह्यो। रोहित शर्मासहित रायन रिकेल्टनले टोलीलाई तीव्र शुरुआत दिलाउँदै पावरप्लेमा ६२ रन जोडे। तर छैटौं ओभरमा रोहित शर्मा ह्यामस्ट्रिङ चोटका कारण रिटायर्ड हर्ट हुँदै मैदान छोड्नुपरेकोले टोलीलाई ठूलो झट्का लाग्यो।
मध्यक्रममा शेरफेन रदरफोर्डले उत्कृष्ट ब्याटिङ गर्दै ३१ बलमा अविजित ७१ रन बनाए र खेललाई रोमाञ्चक बनाए। उनले मिचेल सेन्टनरसँग ६८ रनको साझेदारी पनि गरे, तर टोलीलाई जित दिलाउन सकेनन्।
बेङ्लुरुका लागि क्रुणाल पाण्ड्या र सुयश शर्माले कसिलो बलिङ गर्दै मुम्बईलाई २० ओभरमा २२२/५ मा रोके।
यस जितसँगै बेङ्लुरुले चार खेलमा आफ्नो तेस्रो जित दर्ता गर्दै ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। उता मुम्बईले लगातार तेस्रो हार व्यहोरेको छ, जसले टोलीको अवस्था अझ चुनौतीपूर्ण बनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी