
खरसाङ, 15 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाले बुधवार खरसाङ विधानसभा समष्टि अन्तर्गत सुकना पानीघट्टाका विभिन्न स्थानहरुमा चुनाउ प्रचार गरे। चुनाउ प्रचारका क्रममा उनीसॅंग भागोप्रमो अध्यक्ष अनित थापा, सुकना पानीघट्टा समष्टिका सभासद परेश तिर्की र समष्टिका संयोजक बिन्नी शर्मा पनि उपस्थित रहेका थिए।
उम्मेदवार लामाले बिहान सुकना पानीघट्टा समष्टि अन्तर्गत सुकनाको खैरेनी, पुन्डिङ, सुकना बजार क्षेत्रमा चुनाउ प्रचार गरे। यसपछि, सुकना मोडदेखि गाडी र बाइक-स्कुटीको ऱ्यालीका साथ उनी चम्टा पुगेर चुनाउ प्रचार गरे। चम्टामा लामाले एक चुनावी सभालाई सम्बोधन पनि गरेका थिए।
यसका साथै, सिमलबारी, मालीभिट्टा, पैनाकुमारी, मरियनबारी, गाडीधुरा, दुधे हुँदै पानीघट्टा क्षेत्रमा पुगेर चुनाउ प्रचार गरे। उनले स्थानीय जनतालाई सम्बोधन गर्दै आगामी चुनाउमा अपार भोट दिएर जिताउन आह्वान् गरे।
लामाले आफ्नो सम्बोधनमा मानिसहरुका समस्याहरु समाधान गर्ने र चुनाउ जितेर गाउँ गाउँ पुग्दै काम गर्ने वाचा गरे। उनले विकासको लागि काम गर्ने एकमात्र लिडर अनित थापा रहेको दाबी गरे। चुनाउ प्रचारका क्रममा पानीघट्टामा आयोजित एक चुनावी सभामा निरपानी क्षेत्रबाट गोरामुमो नेता प्रदीप छेत्रीको अगुवाईमा लगभग 100 जना समर्थकहरुले भागोप्रमोमा सामेल भएको दाबी गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक