
- नवगठित सरकारले पहाडमा शिक्षा व्यवस्थाका कमजोरीहरूलाई सुधार गर्नेछ भन्ने कुरामा आशावादी छौं: अनित थापा
मिरिक, 30 मई (हि.स.)। शिक्षा विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह २०२६ आज मिरिकको गोपाल योञ्जन भवनमा सम्पन्न भयो।गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा जीटीए सभाका उपाध्यक्ष राजेश चौहान, शिक्षा विभागका कार्रकारी सभासद सञ्चवीर सुब्बा, डीआई दार्जिलिङ राजीव प्रामाणिक, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक मनोमेन्द्र मोधक, कार्यकारी सभासद अरूण सिंगची, सभासदहरू मिलेश राई, परेश तिर्की लगायत अन्यहरु उपस्थित रहेका थिए।
जीटीए शिक्षा विभागको आयोजनामा र हेडमास्टर एशोसिएशन अनि संयुक्त माध्यमिक शिक्षक संगठनको सहयोगमा सम्पन्न समारोहमा सरकारी विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीहरुलाई सम्मान जनाइयो। जसमा माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा टप टेनमा आउने मेधावी विद्यार्थीहरुलाई स्मृति चिह्न र प्रमाणपत्र प्रदान गरियो। यसैगरी, जीटीए दार्जिलिङ जिल्ला अन्तर्गत सम्पूर्ण विद्यालयका माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा विद्यालय टप्पर हुने विद्यार्थीहरुलाई पनि सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीएका मुख्य कार्यपाल अनित थापाले विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि जीटीएले यस प्रकारको कार्यक्रम गर्दै आएको बताए। उनले सम्पूर्ण विद्यार्थीहरू अनि शिक्षक शिक्षिकाहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले पहाडमा शिक्षा व्यवस्थामा भएका कतिपय कमि कमजोरीहरूलाई राज्यको नवगठित सरकारले सुधार गरिदिने छ भन्ने कुरोमा आफू आश्वस्त रहेको बताए।
हिन्दुस्थान समाचार / हनोक