छिरिङ पाल्देन भोटिया जीएमसीकी मेयर र सारा लामा उप मेयर घोषित
छिरिङ पाल्देन भोटिया जीएमसीकी मेयर र सारा लामा उप मेयर घोषणा


गान्तोक, 30 अप्रेल (हि.स.)। गान्तोक नगर निगम (जीएमसी) की निवर्तमान उप-मेयर तथा नवनिर्वाचित पार्षद छिरिङ पाल्देन भोटियालाई जीएमसीकी मेयर घोषणा गरिएको छ। यसरी नै नवनिर्वाचित पार्षद सारा लामालाई जीएमसीकी उप-मेयर घोषणा गरिएको छ। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीद्वारा बिहिवार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो।

एसकेएम पार्टीले राज्यका नौवटा शहरी स्थानीय निकायहरूका लागि आज पदाधिकारीहरूको घोषणा गऱ्यो। एसकेएमले राज्यका एउटा नगर निगम, एउटा नगर परिषद् र सातवटा नगर पञ्चायतहरूका लागि मेयर, उप-मेयर, चेयरमेन, भाइस चेयरमेन, प्रेसिडेन्ट र भाइस प्रेसिडेन्टहरू घोषणा गरेको छ।

एसकेएम पार्टी सेक्रेटरी जेनरल एवं मन्त्री अरुण उप्रेतीले राज्यमा नगरपालिका चुनाउ सम्पन्न भइसकेको बताउॅंदै शहरी स्थानीय निकायहरू गठनका लागि निर्वाचित पार्षदहरूले पार्टीलाई नै जिम्मा लगाएको जानकारी गराए। निर्वाचित पार्षदहरूले पार्टीको निर्णयलाई मान्ने स्वीकृति प्रदान गरेपछि सबैको सहमतिमा पदाधिकारीहरू नियुक्त गरिएको उनले बताए।

मन्त्री उप्रेतीले गान्तोक नगर निगमको मेयर पदमा छिरिङ पाल्देन भोटिया र उप मेयर पदमा सारा लामालाई नियुक्त गरिएको घोषणा गरे। उल्लेख्य, श्रीमती भोटिया जीएमसीकी उप मेयर थिइन् भने यस पटक उनलाई मेयर बनाइएको छ। यस अघि पार्षद नील बहादुर छेत्री जीएमसीका मेयर थिए।

सेक्रेटरी जेनरल उप्रेतीले भने, 'नाम्ची नगर परिषदकी चेयरमेन गणेश राई र भाइस चेयरमेन सरस्वती शर्मालाई नियुक्त गरिएको छ। नयॉं बजार जोरथाङ नगर पञ्चायतका सभापति साम्तेन मोक्तान तामाङ र उप सभापति मञ्जरी राईलाई नियुक्त गरिएको छ।' यसरी नै गेजिङ नगर पञ्चायतका सभापति खिनामाया तिवारी र उप सभापति रिन्जिङ भोटियालाई नियुक्त गरिएको बताए।

उनले भने, 'सोरेङ नगर पञ्चायतका सभापति दिना हाङ्गमा सुब्बा र उपा सभापति दिल प्रसाद जोगीलाई नियुक्त गरिएको छ। मङ्गन नगर पञ्चायतका सभापति छिरिङ डोमा भोटिया र उप सभापति नर्बु रिन्छेन लेप्चालाई नियुक्त गरिएको छ।' उनले रम्फू नगर पञ्चायतका सभापति सन्जित कुमार खाती र उप सभापति सन्जु मंगरलाई नियुक्त गरिएको बताए।

यसै क्रममा सिङताम नगर पञ्चायतका सभापति मुकेश अग्रवाल र उप सभापति बिन्ध्या सुब्बालाई नियुक्त गरिएको छ। उनले पाकिम नगर पञ्चायतका लागि सभापति इन्चुङ भोटिया र उप सभापति भीममाया छेत्रीलाई नियुक्त गरिएको जानकारी गराए।

यस अघि एसकेएम प्रवक्ता जेकब खालिङले आज पार्टी अध्यक्ष पीएस गोलेको अध्यक्षतामा एक महत्वपूर्ण बैठक बसेको जानकारी गराए। बैठकमा शहरी स्थानीय निकायमा निर्वाचित पार्टीका सबै 62 जना पार्षदहरू र सम्बन्धित क्षेत्रका विधायकहरू उपस्थित थिए। उनले बैठकमा सबैको सहमतिमा महत्वपूर्ण निर्णय लिइएको अवगत गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande