साहित्यकार खुसेन्द्र राईलाई चिया कविता पुरस्कार 2026
साहित्यकार खुसेन्द्र राईलाई चिया कविता पुरस्कार 2026


चिया कविता समूह


गान्तोक, 30 अप्रेल (हि.स.)। सिक्किममा लामो समयदेखि साहित्यमा साधनारत साहित्यकार खुसेन्द्र राईलाई वर्ष 2026 को चिया कविता पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। चिया कविता, सिक्किमको आज गान्तोकमा बसेको बैठकपछि उनको नाम सर्वसम्मतीले चयन भएपछि घोषणा गरिएको छ।

चिया कविताका वरिष्ठ सदस्य साहित्यकार उषा शर्माले पुरस्कार चयनको घोषणा पत्रकार सम्मेलनमा गरिन्। उनले भनिन्, साहित्यको विभिन्न विधामा साधनारत सातजना सर्जकको नाम प्रस्तावित रहेको थियो, जसबाट सर्वसम्मतिले खुसेन्द्र राईको नाम पुरस्कारको निम्ति योग्य ठहर भएपछि उनलाई चिया कविता पुरस्कार 2026 अपर्ण गरिने निर्णय गरिएको छ।

लामो समयदेखि साहित्यमा कलम चलाइरहेका पश्चिम सिक्किमको जुम गाउँमा जन्मिएका खुसेन्द्र राईको अहिलेसम्म दुईवटा गजल सङ्ग्रह, दुईवटा कथा सङ्ग्रह, एक कविता सङ्ग्रह र प्रेसमा रहेको एउटा उपन्यास रहेका छन्। चुपचाप साधना गर्नमा रमाउने खुसेन्द्र राईको कथासङ्ग्रह खुर्मी र पिरती क्याफेले पाठकहरूको मन जित्न सफल बनेको छ। यसैगरि सम्भवतः भारतमै पहिलो नेपाली गजलको सङ्ग्रह ए जिन्दगी र मेरा एकाउन्न गजल पनि चर्चित रहेको छ।

यसैगरि उनको उपन्यास जोगी प्रकाशोन्मुख रहेको अनि लोकार्पण हुन बाँकी रहेको छ। कविता सङ्ग्रह अनाम बाटोले पनि चर्चा कमाएको श्रीमती शर्माले बताइन। आगामी 21 मईको दिन विश्व चिया दिवसको अवसरमा आयोजित गरिने भव्य कार्यक्रमबीच चिया कविता पुरस्कार 2026 प्रदान गरिने श्रीमती शर्माले बताइन्। यसैगरि उक्त दिन अन्तरराष्ट्रिय स्तरको काव्य सङ्गम, चिया वार्ता तथा कविता वार्ता पनि आयोजन गरिने भएको छ।

उल्लेखनीय छ, चिया कविता सिक्किमले 2023 देखि वर्षेनी चिया कविता पुरस्कार विश्व चिया दिवसको दिन प्रदान गर्दै आएको छ। पुरस्कारमा नगद राशी 15 हजार रुपियाँ, अङ्ग्रवस्त्र, ताम्रपत्र तथा प्रसस्ती पत्रले पुरस्कृत गरिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande