
खरसाङ, 30 अप्रेल (हि.स.)। यसपालीको आईएसई परीक्षामा घैयाबारीको 14 माइल निवासी निर्भय प्रधानले 95.75 प्रतिशत अङ्कसहित उत्तीर्ण गरेका छन्। पिता निलम प्रधान र माता कुसुम प्रधानका सुपुत्र निर्भय प्रधानले खरसाङको एक निजी स्कूलबाट यसपालीको आईएसई परीक्षा दिएका थिए। उनले परीक्षामा उत्कृष्ट अङ्क ल्याएर आफ्नो परिवार, गाउँ ठाउँ र स्कूललाई नै गौरवान्वित बनाएका छन्।
निर्भय प्रधानले आईएसई परीक्षामा अङ्ग्रेजीमा 93, नेपालीमा 95, इतिहासमा 81, राजनीति विज्ञानमा 97, भूगोलमा 90 र सोसियोलोजीमा 98 अङ्क ल्याएका छन्। छोरा निर्भय प्रधानले आईएसई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गरेकोमा पिता निलम प्रधानले खुशी व्यक्त गर्दै छोराको मेहनत र पढाईको असल परिणाम प्राप्त भएको बताए। उनले छोराको सफलतामा शिक्षक शिक्षिकाहरुलाई धेरै धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक