
दार्जिलिङ, 08 अप्रेल (हि.स.)। जनताको हितमा आएको फण्ड जनतामा नै प्रयोग गर्नेछु भन्दै अजय एडवर्ड्सले दार्जिलिङवासीलाई वाचा गरेका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पार्टीको केन्द्रिय संयोजक अजय एडवर्ड्सले आज दार्जिलिङ विधानसभा क्षेत्रको सदर 3 र 4 समष्टिहरूमा चुनावी प्रचार गरे।
यसै क्रममा यहाँको राजबारीमा आयोजित पथ सभालाई सम्बोधन गर्दै अजय एडवर्ड्सले दार्जिलिङ विधानसभा समष्टिका मतदाताहरूले मलाई विजय बनाएर विधानसभामा पठाएको खण्डमा जनताको हितमा आएको फण्ड जनताको हितमा प्रयोग गर्नेछु भन्दै वाचा गरे। उनले भने, तपाईहरूले भोट दिएर मलाई विजय बनाउनु भयो भने म कहिले घमण्डी हुँदिन, जनताको निम्ति आएको सरकारी सहुलियतको दुरुपयोग हुनु दिने छुइन। कमिशन खोर हुने छुइन।
उनले अघि भने, 'दार्जिलिङ पहाड बचाउन पर्छ। क्षेत्रीयता बचाउँनु पर्छ भनेर मैले सबैलाई गुहार लगाए, मेरो साथी मन घिसिङलाई पनि एकबद्ध भएर चुनावी मैदानमा जानुपर्छ भन्ने गुहार लगाए। गोजमुमो प्रमुख विमल गुरूङलाई भेटेर हाम्रो क्षेत्रीयता बचाउनु पर्छ भनेर गुहार लगाए। पहाडका कतिपय राजनैतिक दलले बंगाल छोड्नु मान्दैन, कतिपय राजनैतिक दलले केन्द्रको भाजपा छोडन मान्दैन। दार्जीलिङ पहाड बाँच्नु पर्छ, हाम्रो क्षेत्रीयता सुरक्षित हुनुपर्छ भन्ने पार्टी भनेको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मात्र हो।'
उनले अझ भने, दार्जिलिङ पहाडको सत्ताधारी पार्टीले भेदभाव गर्दै आएको छ। पहाडको सत्ताधारी पार्टीका नेतृत्वहरूले विपक्षी विजय भएका समष्टिहरूमा फुटेको कौडीसम्म दिएको छैन। निर्वाचित सभासदहरूले पाउने गाडीको तेल, चौकी आदि केही दिएका छैनन्। विगतको चुनाउहरूमा तपाईहरूले हामीलाई माया गरेर भोट दिनु भयो अनि नगरपार्षद, सभासद निर्वाचित गर्नु भयो, तर तपाईहरूको सभासदहरूलाई सत्ताधारी पार्टीले फुटेको कौडी समेत नदिएकाले हुन पर्ने विकासका कार्यहरू भएको छैन। अब हुने विधानसभा चुनाउमा मलाई विजय बनाएर पठाउनु भयो भने जनताको हितमा आएको फन्ड जनतामा नै प्रयोग गर्नेछु, अरूले जस्तो गलत प्रयोग गर्ने छुइन।'
हिन्दुस्थान समाचार / हनोक