
काठमाडौं, 17 मई (हि.स.)। नेपालका प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले आज ३२औँ पटक सफलतापूर्वक सगरमाथाको शिखर आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। ५६ वर्षीय कामिरिताले आज बिहान १०:१२ बजी विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। यो जानकारी सेभेन समिट ट्रेक्सले दिएको हो।
कामिरिता ‘एभरेस्ट म्यान’ नामले विश्वभर परिचित छन्। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान पनि उनकै नाममा रहेको छ। सेभेन समिट ट्रेक्सले फेसबुकमार्फत जानकारी दिँदै ३२औँ सफल आरोहणपछि कामिरिता र उनको टोली हाल बेस क्याम्पतर्फ फर्किरहेको जनाएको छ। साथै, उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा भव्य स्वागतको तयारी भइरहेको उल्लेख गरिएको छ।
सन् १९९४ देखि सगरमाथा आरोहण यात्रा शुरु गरेका कामिरिताले सन् २०२६ सम्म पर्वतारोहण क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरेका छन्। उनलाई नेपालका राष्ट्रिय गौरवका रूपमा मात्र नभई विश्व पर्वतारोहण समुदायका एक उत्कृष्ट प्रतीकका रूपमा पनि हेरिन्छ।
यसैगरी ‘माउन्टेन क्वीन’ नामले परिचित लाक्पा शेर्पाले आज बिहान ९:३० बजी ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला पर्वतारोहीमध्ये सबैभन्दा धेरै पटक एभरेस्ट सफलतापूर्वक चढ्ने विश्व कीर्तिमान कायम गरेकी छन्। पर्यटन विभागका निर्देशक हिमाल गौतमले उक्त जानकारी दिएका हुन्।
सन् १९७३ मा संखुवासभाको मकालु २ क्षेत्रमा जन्मिएकी लाक्पा शेर्पाले नेपालका पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल