
गेजिङ, 02 मई (हि.स.)। पश्चिम सिक्किमको गेजिङ नगर पञ्चायतका नवनिर्वाचित सदस्यहरूलाई आज स्थानीय जिल्ला सम्मेलन हलमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गराइयो। जिल्लापाल तथा जिल्ला नगरपालिका चुनाउ अधिकृत तेन्जिङ डी. डेन्जोङ्गपाले निर्वाचित सबै पार्षदहरूलाई शपथ दिलाए। यस अवसरमा क्षेत्र विधायक लोकनाथ शर्मा, जिल्ला अध्यक्ष डीएस लिम्बू, पुलिस अधीक्षक छिरिङ शेर्पा तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
गेजिङ नगरपञ्चायतमा सर्वसम्मतिद्वारा खिनामाया तिवारीलाई सभापति तथा रिन्जिङ भोटियालाई उपसभापति निर्वाचित गरियो। अन्य निर्वाचित पार्षदहरूमा लाकी डोमा भोटिया, सुमन मित्तल र प्रवीण दर्जी सामेल छन्।
क्षेत्र विधायक शर्माले सबै निर्वाचित पार्षदहरूलाई बधाई दिॅंदै जनप्रतिनिधिको रूपमा उनीहरूको भूमिकाको महत्वमाथि प्रकाश पारे। उनले जनताको कल्याणलाई उच्च प्राथमिकता दिन, समावेशी विकास सुनिश्चित गर्न र जनताले उनीहरूमाथि देखाएको विश्वासलाई कायम राख्न आह्वान गरे। उनले सरकारी विभाग र सरोकारवालाहरूसँग नजिकको समन्वयमा काम गर्न आग्रह गर्दै पार्षदहरूको कार्यकाल जवाफदेहिता र विकासप्रतिको बलियो प्रतिबद्धताद्वारा निर्देशित हुनुपर्ने सुझाउ राखे।
हिन्दुस्थान समाचार / बिशाल