
गान्तोक, 28 मई (हि.स.)। सिक्किमकी उदीयमान फिल्म निर्देशक त्रिवेणी राईद्वारा निर्देशित पुरस्कार विजेता फिल्म 'शेप अफ मोमो' को प्रिमियर आज राजधानीमा सम्पन्न भयो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।
'शेप अफ मोमो' भोलि, 29 मईदेखि भारत र नेपालमा रिलिज भइरहेको छ। यस क्रममा आज गान्तोकको वज्र सिनेमा हलमा फिल्मको प्रिमियर सम्पन्न भयो। मुख्यमन्त्री र उनकी धर्मपत्नी कृष्ण राईलाई राज्यमा कला क्षेत्रको संवर्धनका लागि निरन्तर समर्थन गरिरहेकोमा सम्मानित गरियो। यसैगरी, मुख्यमन्त्री र श्रीमती राईको बाहुलीद्वारा फिल्मका निर्देशक, निर्माता र कलाकारहरूलाई सम्मानित गरियो।
मुख्यमन्त्रीले सिक्किमी गौरव त्रिवेणी राईद्वारा निर्देशित पुरस्कार विजेता फिल्म 'शेप अफ मोमो' को प्रिमियरमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा पोस्ट साझा गरेका छन्। उनले यो उत्कृष्ट उपलब्धि सिक्किमको फिल्म जगतको लागि एक महत्त्वपूर्ण उपलब्धि र सम्पूर्ण राज्यको लागि गर्वको अवसर रहेको उल्लेख गरेका छन्।
उनले महिला निर्देशकलाई हार्दिक बधाई दिॅंदै उनको असाधारण दृष्टिकोण, समर्पण र कलात्मक उत्कृष्टताले यो परियोजनालाई जीवन्त बनाएको बताएका छन्। निर्देशक राईको उपलब्धिले उनको प्रतिभा र दृढतालाई प्रदर्शन गर्नुका साथै क्षेत्रका आकांक्षी फिल्म निर्माताहरू र महिलाहरूका लागि प्रेरणा पनि रहेको बताएका छन्।
उनले निर्देशक राईको सफलताले निस्सन्देह सिक्किमलाई गौरवान्वित बनाएको र क्षेत्रीय सिनेमाको विकासमा अर्थपूर्ण योगदान पुर्याएको बताएका छन्। मुख्यमन्त्रीले फिल्मको निरन्तर सफलताको कामना गर्दै निर्देशक राईको कामले दर्शकहरूलाई प्रेरणा दिइरहुन् र सिक्किमलाई अझ ठूलो प्रतिष्ठा दिलाइरहुन् भनी शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल