
गुवाहाटी, 30 मई (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मंगोलियामा आयोजना हुने पवित्र प्रदर्शनी कार्यक्रमका लागि भगवान बुद्धका दुई प्रमुख शिष्य अरहन्त सारिपुत्र र अरहन्त मौद्गल्यायन का पवित्र अवशेष बोकेको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन्। यो कार्यक्रम भारत सरकारको संस्कृति मन्त्रालयको संरक्षणमा आयोजना भइरहेको छ।
साँची स्तूपसँग सम्बन्धित तथा मध्य प्रदेशस्थित साँची विहार चैत्यमा सुरक्षित राखिएका यी पवित्र अवशेषहरू ९ जूनसम्म मंगोलियामा राखिनेछन्। यस आध्यात्मिक तथा सांस्कृतिक यात्राको उद्देश्य भारत र मंगोलियाबीचको शताब्दीयौँ पुरानो सभ्यतागत तथा बौद्ध सम्बन्धलाई अझ सुदृढ़ बनाउनु हो।
साँची स्तूप, जो यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो, त्यहाँसँग सम्बन्धित यी पवित्र अवशेषहरू विश्वभरका बौद्ध अनुयायीहरूका लागि अत्यन्त श्रद्धाको विषय मानिन्छन्। यो पहल प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष प्रयासमा गरिएको हो, जसको उद्देश्य भारत र मंगोलियाबीचको सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउनु हो। मंगोलियालाई बौद्ध जगतमा भारतको आध्यात्मिक छिमेकीका रूपमा हेरिन्छ।
राज्यपाल आचार्य शनिबार पूर्ण राजकीय सम्मानका साथ पवित्र अवशेषहरू लिएर प्रतिनिधिमण्डलसहित मंगोलियातर्फ प्रस्थान गर्नेछन्। मंगोलियामा आयोजना हुने प्रदर्शनीका क्रममा ठूलो संख्यामा श्रद्धालु, भिक्षु, विद्वान तथा आध्यात्मिक अनुयायीहरूले यी पवित्र अवशेषहरूको दर्शन गरी श्रद्धाञ्जली अर्पण गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमलाई भारत र मंगोलियाबीचको साझा बौद्ध सम्पदा तथा गहिरो मित्रताको प्रतीकका रूपमा हेरिएको छ। राज्यपाल आचार्य जून ३ मा भारत फर्किने सम्भावना रहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी