
उत्तरकाशी, 30 मई (हि.स.)। उत्तरकाशी जिल्लाको गंगनानी-भटवाडी मार्गमा गएराति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। कारमा जम्मा पाँच जना सवार थिए। दुर्घटनापछि राज्य आपदा प्रबन्धन बल (एसडीआरएफ) ले अन्धकार र कठिन परिस्थितिमा उद्धार तथा राहत अभियान सञ्चालन गरी घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो।
प्राप्त जानकारीअनुसार, शुक्रबार राति उत्तरकाशीको डीसीआरबाट एसडीआरएफलाई गंगनानी नजिक एउटा स्विफ्ट कार अनियन्त्रित भई गहिरो भीरमा खसेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ एसडीआरएफ पोस्ट भटवाडीको टोली उपनिरीक्षक गब्बर सिंह तथा पोस्ट उजेलीको टोली आरक्षी शक्ति सिंहको नेतृत्वमा आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरेको थियो।
घटनास्थलमा पुगेपछि टोलीले गाडी गहिरो भीरमा खसेको अवस्थामा फेला पार्यो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जना गम्भीर घाइते भएका थिए।
मृतकहरूको पहिचान महाराष्ट्रको नागपुर निवासी ७७ वर्षीय दामोदर हरिरामजी रामटेककर र ६७ वर्षीया लक्ष्मी दामोदर रामटेककरका रूपमा भएको छ। घाइतेहरूमा ओडिशाको भुवनेश्वर निवासी ६१ वर्षीय विमल कुमार प्रधान, पञ्जाब निवासी ३५ वर्षीय यशवीर तथा भुवनेश्वर निवासी ५४ वर्षीया उपासना प्रधान रहेका छन्।
एसडीआरएफका जवानहरूले रातको अन्धकार र कठिन भौगोलिक अवस्थाका बाबजुद तीव्र उद्धार अभियान सञ्चालन गरेका थिए। घाइतेहरूलाई भीरबाट सुरक्षित रूपमा निकालेर प्राथमिक उपचार प्रदान गरियो र सडकसम्म ल्याएपछि एम्बुलेन्समार्फत अस्पताल पठाइयो। साथै, मृतकहरूको शव भीरबाट निकालेर जिल्ला पुलिसको जिम्मा लगाइएको छ। दुर्घटनाको कारणबारे पुलिसले अनुसन्धान गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी