
खरसाङ, 31 मई (हि.स.)। खरसाङकी नारी स्रष्टा एवं शिक्षिका मिना लामा राईद्वारा लिखित पहिलो कृति 'मौनभित्रको कोलाहल' कविता सङ्ग्रह आइतवार खरसाङमा लोकार्पण गरिएको छ। खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न उक्त पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार विन्ध्या सुब्बाले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा जीवन नामदुङ उपस्थित रहेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्यकारहरु क्रमैले ग्याल्पो लामा, जीबी बल, आशा मुखिया लामा, छिमी ओङ्मु लामा, अमला सुब्बा, विष्णु ठकुरी, गणेश थापा, रश्मि राई, ऋषि राई, विनोद रसाइली लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र कवि मिना लामा राईको बाहुलीबाट विधिवत् रूपमा पुस्तक लोकार्पण गरियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा जीवन नामदुङले यस पुस्तक लोकार्पण भएको घोषणा गरेका थिए। उक्त लोकार्पित कविता सङ्ग्रहमाथि कवि कर्ण विरहले समीक्षात्मक टिप्पणी राख्दै कवि मिना लामा राईद्वारा लिखित कविता सङ्ग्रहको शीर्षक मनभित्रको कोलाहल दुई शब्द मौन र कोलाहलको विरोधाभास रहेको अनि वर्तमान मानिसको जीवनलाई परिभाषित गर्ने प्रयास गरिएको बताए।
वरिष्ठ साहित्यकार डा जीवन नामदुङले आफ्नो सम्बोधनमा लेखकहरुले लेख्दा कनेर नलेख्नु अनि लेख्दा आत्मालाई नढाट्नु भनी बताए। उनले लेख्नु भनेको आत्माको अभिव्यक्ति हो र आत्मामा व्यक्त गर्ने कुरा नै लेखन कार्य हो भनी बताए। डा जीवन नामदुङले भने, सबैले लेख्नु होस् तर आत्मालाई ढाँटेर नलेख्नु होस्। आफुमा जे छ त्यो लेख्नु होस्। समाजको हरेक सूक्ष्म रुपलाई पनि लेख्नुहोस्। तर लेख्दा ढाँट्नु हुँदैन।'
कार्यक्रममा सभाध्यक्ष वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले आफ्नो वक्तव्यमा कवि मिना लामा राईलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको कविताहरु मन परेको बताइन्। वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले भनिन् 'उनका कविताहरुमा देश प्रेम रहेको, विश्व समस्याहरुमाथि चिन्ता व्यक्त गरिएको र सामुहिक समस्याप्रति सचेत रहेकी छन्। सबै स्रष्टाहरुको आधारशिला कविता नै हो। मनको भाव प्रकट गर्ने माध्यम नै कविता हो। किनभने कविता साहित्यको सबैभन्दा लोकप्रिय र आफ्नो जीवनको दु:ख सुखको साथी हो।' उनले अघि भनिन् 'नारीहरु लेखनमा संख्यामा मात्र धेरै होइन तर गुणात्मक लेखनमा पनि अघि हुनुपर्छ भन्ने मलाई लाग्छ।'
हिन्दुस्थान समाचार / हनोक