
गान्तोक, 01 जून (हि.स.)। सिक्किम अकादेमीको आयोजनमा सोमबार सिक्किम नेपाल साहित्यिक भेटघाट कार्यक्रम अकादेमीको हलमा सम्पन्न भयो। कार्यक्रममा अनलाइन अभिलेख संस्था नेपालले सिक्किमका दुई स्रष्टा साहित्यकार वीरभद्र कार्कीढोली र मदन कुमार राईलाई अभनन्दन जनायो।
अनलाइन अभिलेख संस्थाका प्रतिनिधि डा पुरण राई, आनन्द राई अनि प्रकाश राईको उपस्थिति रहेको थियो। दुई साहित्यकारको योगदानलाई कदर गर्दै संस्थाले अभिनन्दन पत्र र शीरशोभा अर्पण गरेर सिक्किमका दुई साहित्यकारलाई अभिनन्दित गरियो। कार्यक्रममा सिक्किम अकादेमीका भाषा साहित्य सचिव प्रद्मुन श्रेष्ठले स्वागत सम्बोध राख्दै अकादेमीको गतिविधि र कार्यहरूबारे अवगत गराए।
कार्यक्रममा अनलाइन अभिलेख संस्थाका प्रतिनिधि डा पुरण राईले संस्थाले अनलाइन अभिलेखहरू सङ्ग्रह गर्ने गरेको जानकारी दिए। जसमा व्यक्तिगत जीवनी भाषा, साहित्य, परम्परा, संस्कृति र स्थान परिचय जस्ता महत्वपूर्ण जानकारीहरू फोटो र लेख मार्फत सङ्कलन गर्ने गरिएको बताए। यसैगरि उनले संस्थाको तर्फबाट वार्षिक रूपमा साहित्यिक संस्था र वरिष्ठ सर्जक तथा समाजका मान्य व्यक्तित्वका जननी (आमा) लाई सम्मान गर्दै आएको बताए।
यसै सिलसिलामा भारतबाट सिक्किमका दुई स्रष्टालाई यो वर्ष सम्मानिक गरिएको बताए। उनले विश्वभरिका सबैले अनलाइन अभिलेखमा आफ्ना अभिलेखहरू प्रकाश गराउन सकिने बताए। कार्यक्रममा सिक्किम अकादेमीलाई संस्थाको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरियो।
अकादेमीका अध्यक्ष प्रवीण राई जुमेलीले उक्त सम्मान पत्र र पुस्ताकालयको निम्ति पुस्तक ग्रहण गरे। सिक्किम नेपालका साहित्यकारहरूबीच भलाकुसारीसँगै रोचक कविता गोष्ठी सम्पन्न भयो, जसमा सिक्किमका 15 जना कविले कविता वाचन गरेका थिए। कविता वाचन गर्ने कविहरूमा राधा पाण्डे, अविगेल राई, रूपा तामाङ, सूचन प्रधान, दावा योञ्जन, अम्बर गुरुङ लाछिकाठी, टीबी चन्द्र सुब्बा, मनोरथ दाहाल, पुजा छेत्री, विश्वजीत बास्कोटा, तामलिङ सरोजनी सुब्बा, जीविका अश्रु, मणिका शर्मा, भीम रावत र रञ्जना कार्कीले आफ्नो मौलिक कविता पठन गरेका थिए।
कवि प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा नेपाली साहित्य परिषदका अध्यक्ष हरी ढुङ्गेल, पूर्व सचिव प्रताप प्रधान समाजका विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तित्व, साहित्यकार, चित्रकार, सङ्गीतकार, नाटककारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा अकादेमीको तर्फबाट नेपाली पहुनाहरूलाई परम्परागत खादा लगाएर स्वागत जनाइएको थियो।
हिन्दुस्थान समाचार / बिशाल