मल्लीमा सीएपीको सभा सम्पन्न, अझ सशक्त रूपमा पार्टीलाई सहयोग गर्न आह्वान
मल्लीमा सीएपीको सभा सम्पन्न


गान्तोक, 13 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको समन्वय सभा आज मल्लीमा पार्टी अध्यक्ष गणेश कुमार राईको निवासमा सम्पन्न भयो। समष्टि अध्यक्ष अमर खुलालको अध्यक्षतामा बसेको उक्त सभामा स्थानीय स्वशासनका अध्यक्ष देवराज राई, महिला परिषद्की अध्यक्ष बिना शर्मा, जिल्ला, जनजाति परिषद्की कोषाध्यक्ष सुष्मा तामाङ, मल्ली समष्टिका सचिव सुरेन तामाङ लगायत पार्टीका समर्थकहरूको उपस्थिति रहेको थियो।

सभामा पार्टीद्वारा सञ्चालन गरिएको सदस्यता अभियानबारे विशेष छलफल गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ। सभामा पार्टीका विभिन्न गतिविधि तथा भावी कार्यक्रमहरूबारे गहन समीक्षा गर्दै मल्ली समष्टिले आगामी दिनहरूमा अझ बढी सक्रियताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइयो।

आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा खुलालले मल्ली समष्टिको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा पार्टीलाई सहयोग गर्न सबैलाई आह्वान गरे। उनले वर्तमान सरकार भ्रष्टाचार तथा मनोरञ्जनमुखी गतिविधिमा अल्झिएर जनतालाई निराश र पीडित बनाएको आरोप लगाए। यस्तो परिस्थितिमा सीएपी पीडित तथा उपेक्षित जनताको आवाज बनेर हरेक जनसरोकारका मुद्दामा संघर्ष गरिरहेको बताए।

उनले समष्टिका पदाधिकारीहरूलाई पार्टीको सन्देश र कार्यक्रमहरू लिएर आम जनताको घरदैलोमा पुग्ने जिम्मेवारी वहन गर्न आह्वान गरे। उनले राज्य तथा युवा पुस्ताको भविष्यसँग भइरहेको खेलवाडबारे जनतालाई सचेत गराउने र पार्टीलाई अझ सक्रिय रूपमा अघि बढाउने पनि आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande