
गान्तोक, 13 जून (हि.स.)। राजधानीको ताथाङ्चेनस्थित एक प्रमुख नशामुक्ति एवं पुनर्वास केन्द्र फ्रीडम फेसिलिटीले लागूऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसर पारेर दुई दिवसीय फुटसल प्रतियोगिता आयोजना गरेको छ। यहॉंको टीएनए स्कूलको खेल मैदानमा आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालय, महाविद्यालय र लाइन विभागले भाग लिइरहेका छन्।
फ्रीडम फेसिलिटीका प्रतिनिधि केसी निमाले मिडियाकर्मीहरूलाई भने, लागूऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस हरेक वर्ष 26 जूनमा पालन गरिन्छ। तर, विद्यार्थीहरूको परीक्षा र अन्य कतिपय कारणहरूलाई ध्यानमा राख्दै फ्रीडम फेसिलिटीले आज र भोलि (13 र 14 जून) महिलाहरूलाईका लागि फुटसल प्रतियोगिता आयोजना गरिरहेको छ। उनले यस प्रतियोगितामा विभिन्न विद्यालय, महाविद्यालय र लाइन विभाग गरी जम्मा 26 दलले भाग लिइरहेको बताए।
उनले धेरै संख्यामा महिला र युवतीहरू पनि ड्रग्सको कुलतमा फसिरहेकाले महिलाहरूलाई केन्द्रमा राखेर यो फुटसल आयोजना गरिएको बताए। उनले पुरुषहरूको तुलनामा महिलाहरूका लागि सेवा केन्द्रहरूको संख्या धेरै कम रहेको अवगत गराए।
फुटसल प्रतियोगिताको उद्घाटनमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुस्ताक मुख्य अतिथि र सिक्किम महिला आयोगकी अध्यक्षा टेनी डोमा भोटिया विशिष्ट अतिथि थिए।
हिन्दुस्थान समाचार / बिशाल