
गान्तोक, 13 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिलगढ़ीको प्रधान नगरमा एसएनटी कम्प्लेक्समा रहेको एसएनटी विश्राम गृहको भ्रमण गर्दै यसको वर्तमान अवस्थाको मूल्याङ्कन गरे। उनले यस सम्पत्तिको अपार सम्भावना रहेको यसलाई सिक्किमका जनताको लागि बहुमूल्य सम्पत्तिमा रूपान्तरण गर्न सकिने बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस सम्पत्तिको उपयुक्त स्तरोन्नतिपछि एक विशाल र सुसज्जित राज्य अतिथि गृहको रूपमा काम गर्न सक्ने उल्लेख गरेका छन्। यसले राज्यका बिरामीहरू र उनीहरूका परिचारकहरूका साथै आगन्तुकहरू र सरकारी अधिकारीहरूका लागि आवास र सहयोग सुविधाहरू प्रदान गर्ने उनले बताएका छन्।
उनले भ्रमणको क्रममा अवस्थित पूर्वाधारको समीक्षा गरिएको र यसको कार्यक्षमता र दीर्घकालीन उपयोगिता बढाउन यसको नवीकरण र पुनर्विकासका लागि उपायहरू छलफल गरिएको जानकारी गराएका छन्। उनले भ्रमणको उद्देश्य चिकित्सा, आधिकारिक र अन्य आवश्यक उद्देश्यका लागि सिलगढी भ्रमण गर्ने सिक्किमेली नागरिकहरूको आवश्यकतालाई पूरा गर्ने आधुनिक सुविधा सिर्जना गर्नु रहेको बताएका छन्।
भ्रमण अवधि मुख्यमन्त्रीसॅंग भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू, मुख्य सचिव आर. तेलाङ, भवन तथा आवास विभागका अधिकारीहरू, यातायात विभागका अधिकारीहरू आदि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल