
गान्तोक, 13 जून (हि.स.)। मायाल्मु सेल्टर होमले परमपावन 14औं दलाई लामाको 91औं जन्मोत्सवको अवसरमा 'करुणाका लागि दौड़' र बिरुवा रोपण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी 5 जुलाईका दिन पाकिम जिल्लाको असम लिङ्जेमा सम्पन्न गरिने छ।
मायाल्मु सेल्टर होमका प्रभारी छोदक भोटियाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा भने, 'परमपावन 14औं दलाई लामाको 91औं जन्मोत्सवको अवसरमा मायाल्मु होमले 'करुणाका लागि दौड़' नाममा म्याराथन आयोजन गर्ने निर्णय लिएको छ। संस्थाले पहिलो पटक यसरी म्याराथन आयोजना गरिरहेको उनले बताए। उनले संस्थाले छाङ्गु अल्ट्रा र एसबीआई सेवाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिरहेको बताए। संस्थाले विभिन्न प्रायोजकहरूको सहायतामा सो कार्यक्रम आयोजना गरिरहेको पनि उनले स्पष्ट पारे।
टिम छाङ्गु अल्ट्रा रनकी प्रतिनिधि भारती गुरुङले भनिन्, 'पॉंच किलोमिटरको दौड़ तीन श्रेणी (खुल्ला, 50 प्लस र विद्यार्थी) मा आयोजना गरिने छ। धेरैभन्दा धेरै उत्साहीहरूलाई प्रोत्साहित गर्नका लागि पॉंच किलोमिटरको दौड़ राखिएको हो। खुल्ला श्रेणीमा पॉंच, 50 प्लस श्रेणीमा तीन र 15 वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूलाई पुरस्कृत गरिने छ। प्रतिभागी सबैलाई मेडल प्रदान गरिने छ। कुल पुरस्कार राशि 65 हजार रूपियॉं रहेको छ।
उनले उक्त दिन बिहान दार्जिलिङबाट तीन जना धावक दौडिएर असम लिङ्जेसम्म आइपुग्ने जानकारी गराइन्। धावकहरूलाई कार्यक्रममा सम्मानित पनि गरिने छ। उनले अहिलेसम्म 232 जनाले पञ्जीकरण गरिसकेको बताउॅंदै इच्छुक व्यक्तिहरूले संस्थाको फेसबुक पेजमा गएर अनलाइन नाम दर्ता गर्न सक्ने बताइन्।
यसैगरी, 6 जुलाईका दिन मायाल्मु सेल्टर होमले बिरुवा रोपण कार्यक्रम आयोजना गर्ने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल