
गान्तोक, 15 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किममा बर्फुङ र याङगाङ निर्वाचन क्षेत्रका १५ परिवार सामेल भएको बताइएको छ। राभाङ्लास्थित पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको प्रेस उल्लेख छ।
कार्यक्रममा भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापा, नाम्ची जिल्ला प्रभारी अरुणा मंगर, किसान मोर्चाका प्रदेश अध्यक्ष नामो वाङ्चुक, जिल्ला अध्यक्ष टासी डाडुल भोटिया लगायत पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नयाँ सदस्यहरूको प्रवेशले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति जनविश्वास निरन्तर बढिरहेको तथा विकास, सुशासन र जनकल्याणप्रतिको पार्टीको प्रतिबद्धतामा जनताको भरोसा झल्किएको भाजपा नेतृत्वहरूले बताए। नयाँ सदस्यहरूले समावेशी विकासको भाजपा दृष्टिकोणप्रति आफ्नो विश्वास व्यक्त गर्दै सशक्त र आत्मनिर्भर सिक्किम निर्माणका लागि सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएकाे विज्ञप्तिमा बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले मोदी सरकारको १२ वर्षे कार्यकालले पारदर्शी शासन, किसान, महिला, युवा तथा समाजका पछाडि परेका वर्गहरूको सशक्तीकरणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। उनले विभिन्न जनकल्याणकारी योजनामार्फत देशमा सकारात्मक परिवर्तन आएको दाबी गरे।
थापाले सिक्किममा भाजपा र सत्तारुढ एसकेएमको गठबन्धन रहेको जानकारी दिँदै नयाँ सदस्यहरूलाई कुनै प्रकारको अन्योल वा आशंका नराख्न आग्रह गरे। उनले संगठन विस्तार तथा जनहितका कार्यहरूमा स्वतन्त्र र आत्मविश्वासका साथ सक्रिय हुन आह्वान पनि गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल