
गान्तोक, 15 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका उपाध्यक्ष कर्मा छिरिङ भोटिया तथा पार्टीकाे युवा परिषदका अध्यक्ष टीआर नेपालको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आज गान्तोकस्थित सचिवालयमा मुख्य सचिव र विद्युत विभागका सचिवलाई ग्यास सिलिन्डरको अनियमित आपूर्तिका कारण विद्यार्थी र आम नागरिकले भोगिरहेका समस्याबारे ज्ञापनपत्र बुझाएको छ। मुख्य सचिव र विद्युत विभागका सचिवको व्यस्तताका कारण प्रत्यक्ष भेट हुन नसके तापनि पनि प्रतिनिधिमण्डलले सम्बन्धित कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको आज प्रेस विज्ञप्तिमा जनाइएको छ।
ज्ञापनपत्रमार्फत पार्टीले ग्यास सिलिन्डरको आपूर्ति समस्या समाधान नभएसम्म प्रभावित नागरिक तथा विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै सरकारले निःशुल्क इन्डक्सन चुल्हा वितरण गर्न तथा निःशुल्क विद्युत सुविधा उपलब्ध गराउन माग गरेको छ।
हाल लागू रहेको 45 दिनमा एक परिवारले केवल एकवटा ग्यास सिलिन्डर मात्र प्राप्त गर्ने व्यवस्थाका कारण सर्वसाधारणले दैनिक जीवन सञ्चालनमा गम्भीर कठिनाई सामना गरिरहेको सीएपीको भनाई छ। यस समस्याले विद्यालयहरूमा सञ्चालित मध्याह्न भोजन कार्यक्रमलाई समेत प्रभावित पारेको दाबी गरिएको छ । नियमित रूपमा खाना पकाउन कठिनाई हुँदा यसको प्रत्यक्ष असर विद्यार्थीहरूको पोषण तथा शैक्षिक गतिविधिमा पनि परेको सीएपीले ज्ञापनपत्रमा उल्लेख गरेको छ।
सीएपी सिक्किमले प्रेस विज्ञप्तिमार्फत सरकारलाई आम नागरिक तथा विद्यार्थीहरूको समस्यालाई बेवास्ता नगर्न, आफ्नो जिम्मेवारीबाट नभाग्न तथा शीघ्र समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल