
गान्तोक, 17 जून (हि.स.)। सोरेङ जिल्लाको नयाँबजार पुलिस थानामा प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस् (पोक्सो) ऐन, 2012 अन्तर्गत दर्ता भएको एउटा मामिलामा आरोपी व्यक्तिलाई सजाय भएको छ। नयाँबजार पुलिस थानामा 17 नोभेम्बर, 2022 मा आरोपी विरुद्ध मामिला दर्ता भएको थियो।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी प्रेस विज्ञप्तिमा जानकारी गराएअनुसार, विस्तृत अनुसन्धान र सफल अभियोजनपछि ट्रायल कोर्टले आरोपी व्यक्तिलाई दोषी ठहरायो र पाँच हजार जरिवाना सहित पाँच वर्ष कैदको सजाय सुनाएको छ। जरिवाना नतिरेमा अभियुक्तलाई थप तीन महिना कैद सजाय हुनेछ।
यस मामिलाको जॉंच पुलिस निरीक्षक सोनाम तोप्गे भोटियाले गरेका थिए, जो हाल सोम्बारिया पुलिस थानामा कार्यरत छन्। उनको लगनशील र व्यावसायिक जॉंचले दोषीलाई सजाय दिलाउन महत्वपूर्ण भूमिका खेलेको पुलिस अधीक्षकले बताएका छन्।
सोरेङ जिल्ला पुलिसले सरकारी वकिल शशी प्रधान र सहायक सरकारी वकिल सबिता शर्माप्रति आभार व्यक्त गरेको छ, जसले अदालतसमक्ष मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गरे। यो फैसलाले बालबालिका विरुद्धको अपराधका पीडितहरूलाई न्याय सुनिश्चित गर्ने र अपराधिक न्याय प्रणालीमा जनताको विश्वासलाई सुदृढ गर्ने सोरेङ जिल्ला पुलिसको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको पुलिस अधीक्षकले बताएका छन्।
उनले जिल्ला पुलिस महिला र बालबालिका विरुद्धको अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्न दृढ संकल्पित रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल