
गान्तोक, 29 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राजधानी छेउ चाँदमारीमा सडकको मर्मत कार्य शुरु गरिएकोमा ७५८ बोर्डर रोड्स टास्क फोर्स (बीआरटीएफ) प्रति आभार प्रकट गरेको छ।
प्रदेश भाजपाले आज जारी प्रेस विज्ञप्तिमा चाँदमारी-गोशखान डांड़ा सडकको मर्मत कार्य शुरु भएकोमा स्वागत गर्दै पार्टी प्रतिनिधिमण्डललाई दिइएको प्रतिबद्धता पूरा गरेकोमा बोर्डर रोड्स अर्गनाइजेसन र ग्रेफप्रति हार्दिक आभार व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ८ जून, २०२६ मा प्रदेश भाजपा अध्यक्ष डीआर थापा तथा जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चाको निर्देशनमा रजनी गुरुङको नेतृत्वमा गएको भाजपा प्रतिनिधिमण्डलले ७५८ बीआरटीएफका कमान्डिङ अफिसरसँग भेट गरी सडकको जिर्ण अवस्थाका कारण सर्वसाधारणले भोग्दै आएको कठिनाइबारे ज्ञापनपत्र बुझाएको थियो। स्थानीय जनप्रतिनिधिको अनुरोधअनुसार विद्यालय परीक्षा सम्पन्न भएपछि मर्मत कार्य शुरु गरिने आश्वासन कमान्डिङ अफिसरले दिएको थियो।
हाल मर्मत कार्य शुरु भइसकेपछि भाजपा सिक्किमका सचिव साङ्गे पल्जरको नेतृत्वमा रजनी गुरुङ तथा अन्य पार्टी प्रतिनिधिहरूले कार्यस्थलको निरीक्षण गरे। भाजपा तथा चाँदमारीवासीको तर्फबाट बीआरओका अधिकारीहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।
भाजपा सिक्किमले पार्टीको समयमै गरिएको पहल तथा निरन्तर अनुगमनले लामो समयदेखि थाँती रहेको यस सार्वजनिक समस्याको समाधानलाई गति दिएको बताएको छ। पार्टीले आगामी दिनहरूमा पनि जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै सिक्किमको पूर्वाधार विकास र जनकल्याणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल